काठमाडौंमा फेरी हैजाको संक्रमण, सुरक्षित बन्न डाक्टरको सुझाव - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

काठमाडौंमा फेरी हैजाको संक्रमण, सुरक्षित बन्न डाक्टरको सुझाव



काठमाडौँ – हालको मौसम अलि फरक खालको छ । एकैछिनमा पानी पर्छ फेरि एकैछिनमा घाम लाग्छ।

यस्तो मौसममा विभिन्न खालका रोक लाग्ने जोखिम बढी हुने डाक्टरले बताउने गरेका छन् ।  ज्वरो, झाडापखाला तथा अरु विभिन्न खालका सरुवा रोगहरु पनि उत्तिकै लागेका छन् ।

उनका अनुसार अहिले ज्वरोजन्य रोग र झाडापखालाका बिरामी बढेका छन् । यस्तै काठमाडौमा हैजाका बिरामी पनि भेटिएको डा. पुनले जानकारी दिए । टेकु अस्पतालमै अहिले टाइफाइट तथा यस्तै ज्वरोजन्य रोग, झाडापखाला तथा अरु संक्रामक रोगका बिरामीको संख्या बढेको छ ।

डाक्टरका अनुसार यो वर्ष पनि काठमाडौँमा हैजा देखिएको छ । केही दिनअघि कालिमाटीका एक बिरामीमा हैजाको संक्रमण देखिएको छ ।

गम्भीर खालको झाडापखाला लागेर अस्पताल आएका ती व्यक्तिमा हैजाको संक्रमण पुष्टि भएको हो । उनलाई जेठको अन्तिम हप्ता अस्पताल भर्ना गरेर केही दिन राखी उपचार गरिएको डा. पुनले जानकारी दिए ।

कालिमाटी क्षेत्रमा यसअघिका वर्षमा पनि हैजाको संक्रमण फैलने गरेको थियो । यो वर्षपनि बर्खा लाग्न थालेपछि हैजाको संक्रमण देखिएको र यसले सबैजना थप सचेत हुनु पर्ने अवस्था आएको डा. पुनले बताए ।

डा. पुनले देश सञ्चारसँग भने, ‘यो वर्ष पनि कालिमाटी क्षेत्रमै एकजनामा हैजाको संक्रमण देखिसकेको छ । खानपिन र पानीमा ख्याल गर्नु पर्ने हुन्छ । अरु ठाउँमा पनि विशेष चनाखो हुनु पर्ने देखिएको छ ।’

कलिमाटी क्षेत्रमा मानिसको आवतजावत बढी हुने र पानीका स्रोत पनि त्यति राम्रो नरहेकाले त्यहिँ संक्रमण बढी देखिने गरेको छ ।

कसरी सुरक्षित बन्ने ?

ज्वरो, झाडापखाला तथा हैजासहितका मौसमी संक्रमक रोगबाट जोगिनका लागि आफ्नो खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

विशेष गरी झाडापखाला, टाइफाइट, हैजा र जण्डिस जस्ता संक्रामक रोगको जोखिम अहिले बढी रहेकाले आफ्नो दैनिकी र रहनसहनमा ख्याल गर्नु पर्ने र खानपानमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ। राजधानीको पानीमा चरम लापरवाही भएकोले पानीको प्रयोगमा पनि निकै ध्यान पुर्याउनुपर्ने हुन्छ ।

विशेषगरी धारा र जारको पानीमा देखिएको ब्यापक समस्या यसको मुख्य कारण हो । यो बाहेक झाडापखाला भएका व्यक्तिहरुबाट पनि हैजा सर्न सक्छ ।