फेरि उठ्नछाड्यो काठमाडौंको फोहर, बाहिर नफाल्ने अनुरोध - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

फेरि उठ्नछाड्यो काठमाडौंको फोहर, बाहिर नफाल्ने अनुरोध



बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ।

यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो।

सहरी विकास मन्त्रालयले फोहरका गाडी आवतजावत् गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकालाई केही दिन फोहरका गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागिएको हो।

शुक्रबारदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्।

बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरका गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए। महानगरपालिकाले आज एक सूचना जारी गर्दै सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ।

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपामा पाँच सय मेट्रिकटन फोहर निस्किने गर्दछ।

निजी र कामपाका गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर लैजाने गरेकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन्।

हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण गरिएको छ।

हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो।