काठमाडौं महानगरको फोहोर फेरि एक साता नउठ्ने - Himal Post Himal Post
  • १५ पुष २०८१, सोमबार
  •      Mon Dec 30 2024
Logo

काठमाडौं महानगरको फोहोर फेरि एक साता नउठ्ने



काठमाडौं महानगरपालिकाको फोहोर फेरि एक साता नउठ्ने भएको छ।

फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतका लागि आठ दिनदेखि फोहोर उठ्न सकेको थिएन। काठमाडौं महानरपालिकाले आजदेखि फोहोर उठाउन शुरू गरेको थियो। एक सातादेखि थन्किएको फोहोर महानगरले बञ्चरेडाँडा पठाएको थियो।

तर, नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइट जाने करीब दुई किलोमिटर बाटो मर्मत सम्पन्न नभएकाले फोहोर बोकेर गएका गाडी बाटोमै रोकिएका छन्।

एक सातापछि आजदेखि उठाउन थालिएको उपत्यकाको फोहोरका ट्रकहरू विसर्जनस्थलतर्फ जाँदै गर्दा सडक निर्माण भइरहेकाले फोहोर विर्सजनमा समस्या देखिएको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले बताए। “स्थानीय बासिन्दाले अवरोध गरेको भन्न मिल्दैन, सडक निर्माण पूरा नभएकाले फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन्,” प्रवक्ता मानन्धरले भने।

काठमाडौंबाट फोहोर बोकेर गएका गाडी सिसडोल र बञ्चरेडाँडाबीचमा रोकिएका हुन्। आज उपत्यकाबाट करीब ६० वटा गाडी फोहोर बोकेर गएका थिए।

यसमा स्थानीय बासिन्दाले पनि असन्तुष्टि जनाएका छन्। सडक नबन्दै महानगरले फोहोरका गाडी पठाएको भनेर स्थानीय बासिन्दाले विरोध जनाएका छन्।

एक महीनाअघि काठमाडौं महानगर र स्थानीय बासिन्दाबीच लिचडको व्यवस्थापन हुनुपर्ने, सडक मर्मतको काम पूरा गर्नुपर्ने, दुर्गन्ध हटाउनेजस्ता सहमति भएको थियो। बाटो मर्मत भइरहेकाले एक सातादेखि फोहोर व्यवस्थापन रोकिएको थियो।

सिलडोलदेखि बञ्चरेडाँडासम्मको करीब दुई किलोमिटर सडक निर्माणमा अझै समय लाग्ने भएको छ। सडक मर्मत नहुँदासम्म फोहोर व्यवस्था गर्न नसकिने बताउँदै काठमाडौं महानगरका प्रवक्ता मानन्धरले भने, “सडक निर्माण सम्पन्न हुन अझै एक साता जति लाग्छ।”

हरेक दिन काठमाडौं उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो। यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरबाट पाँच सय मेट्रिक टन फोहर निस्कने गर्छ।