दरबाहमा कृत्रिम ताल बन्दै - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

दरबाहमा कृत्रिम ताल बन्दै



बटौली। लुम्बिनी आउने पर्यटकलाई जलमार्ग हुँदै रूपन्देहीको शुद्धोधन गाउँपालिका दरबाह क्षेत्रमा ल्याउने योजनाका साथ दरबाह क्षेत्रमा कृत्रिम ताल निर्माणको काम सुरु भएको छ । लुम्बिनी कोरिडोरसँगै जोडिएको शुद्धोधन गाउँपालिका वडा नं. ५ मानपकडी दरबाह क्षेत्रमा कृत्रिम ताल निर्माणको काम सुरु गरिएको हो ।
लुम्बिनी आउने पर्यटकलाई धार्मिक स्थल दरबाह क्षेत्रमा ल्याउनका लागि गाउँपालिकाले पाँच वर्षे योजनाअन्तर्गत कृत्रिम ताल निर्माण गर्न लागेको हो ।
गाउँपालिकाले तत्कालका लागि ४० लाख रूपैयाँ बजेट विनियोजित गरी १० लाख रूपैयाँको लागतमा डिपीआर समेत तयार गरिसकेको छ । सो स्थानबाट १८ किलोमिटरको कृत्रिम ताल निर्माण गरी लुम्बिनीसम्म जोड्ने योजना गाउँपालिकाको रहेको छ । त्यो पुरा गर्न करिब १० करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ । उद्यान, पोखरी, तलाउ, पुलसमेत रहने उक्त कृत्रिम ताल सुरुवाती चरणमा २ किलोमिटर लम्बाई र ५० देखि ७० मिटर चौडाईको हुनेछ ।
“अहिले सुरुवाती चरणमा काम गरेका छौ”, शुद्धोधन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष पुन्नेराम गौतमले भने । अहिले तालको दुवै स्थानमा ड्याम बाध्ने काम भइरहेको छ । नदीको नक्साका आधारमा लुम्बिनीसम्म ताललाई लैजाने उनले बताए । गाउँपालिकाबाट उक्त ताल निर्माणमा लगानी हुन नसके प्रदेश सरकार र केन्द्रीय सरकारसँग थप बजेट मागेर भए पनि ताल निर्माण गरिने जनप्रतिनिधिहरूको भनाई छ ।
१८ किलोमिटर दक्षिणमा रहेको लुम्बिनीको नहरमा जोड्ने दिर्घकालीन योजनासहित उक्त कार्य प्रारम्भ गरिएको छ । प्राकृतिक रूपमा नै उत्पादन भएको पानीलाई दुबैतर्फ ड्याम निर्माण गरेर गाउँपालिकाले विभिन्न बहुउद्देश्यीय कार्यहरू समेत गर्ने बताएको छ ।
१० लाख रूपैयाँमा डिपीआर तयार गरिएकोमा पार्किङ्ग, बाल उद्यान, रेष्टुरेन्ट, पानी फोहर, ड्यम(फाटक) लायत निर्माण गरिने छ । हाल पहिलो चरणमा दुई वटा उत्तर दक्षिण क्षेत्रमा ड्याम(फाटक) निर्माण गर्ने कार्य अगाडि बढेको छ । ५ बर्षसम्म १८ किलोमिटर टाढा रहेको लुम्बिनी नहरमा पानी पु¥याउने गरी योजना अगाडि बढाइएको छ । प्राकृतिक रूपमा मूलमार्फत निरन्तर खडेरीको समयमा पनि पानी बग्ने भएको कारण सीमसार क्षेत्रको लागि पनि महत्पूर्ण भएको कारण गाउँपालिकाको लगानीमा कार्य अगाडि बढाइएको बताइएको छ ।
स्टीमर डुङ्गामार्फत् लुम्बिनी आएका पर्यटकहरू मानपकडीसम्म आउने दिर्घकालीन योजना रहेको छ । जसमा मापकडीमा रहेको भुवनेश्वरी दर्बाह कोटईमाइ मन्दिरको समेत अवलोकन गर्न सकिने गरी योजना अगाडि बढाइएको हो । शुद्धोधन गाउँपालिकाको ४, ५ , ६ र ७ नम्बर वडालाई उक्त ताल क्षेत्रले समेट्ने छ । भ्युटावर निर्माण गरी लुम्बिनी अवलोकन गर्न सकिने, तालमा व्यवसायिक रूपमा माछापालन, डुङ्गा सयर, स्टीमर चलाउने लगायतका योजना रहेका छन् । जसको लागि करिब १० करोड लागत अनुमान गरिएको छ । हाल उक्त क्षेत्रमा राष्ट्रिय पुल विभागले आकर्षक पुलसमेत निर्माण गर्ने योजना अगाडि बढाएको छ । भुवनेश्वरी दर्बाह मन्दिर परिसरदेखि सोही नदी वारपार गर्ने गरी पुल निर्माणको डिपीआर समेत भैसकेको छ । डेढ विघा क्षेत्रफलमा फैलिएको भुवनेश्वरी दर्बाह कोटईमाई मन्दिर पुरातात्विक हिसाबले महत्पूर्ण रहेको छ ।

याे समाचार बिकास पराजुलिले दैनिक पत्र दैनिकका लागि लेखेका हुन् ।