कृषक पाठशाला सकियो - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

कृषक पाठशाला सकियो



रामपुर । रामपुर नगरपालिका ४ सदावर्तमा रहेको जलदेवी आई पि एम कृषक पाठशालाको आइतबार समापन गरिएको छ । काँक्रा खेतीमा संचालन गरिएको १६ हप्ते पाठशालाको कृषक दिवस समारोहको आयोजना गरी समापन गरिएको हो ।
रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले पाठशालामा सहभागी किसानलाई प्रमाणपत्र हस्तान्तरण गर्दै अर्गानिक कृषि उपज उत्पादन गरेर नगरलाई कृषिमा आत्मनिर्भर बनाउन नगर लाग्ने बताइन् । अब निर्वाहमुखी हुने होइन आचार्यले भनिन्– व्यवसायिक उत्पादनमा लाग्नुहोस् । रामपुर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मिनबहादुर घर्तीले देश समृद्धि गराउने कृषिमा आत्मनिर्भर हुने गरी लाग्नुुपर्ने बताए । उत्पादित जग्गा बाँझो हुनु र धेरैजसो भारतमा परनिर्भर हुनुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर ४ का वडा अध्यक्ष एक बहादुर नेपाली, रामपुर नगरपालिका पशु सेवा शाखा अधिकृत मोहन भट्टराई, तालिममा सहभागी मनोज थापाले बोल्दै यस्ता तालिमले खेर गएका स्रोतको सदुपयोग गरी आर्गानिक तरकारी उत्पादन गर्न सहयोग पुग्ने बताए ।
तालिम समापनको अवसरमा जलदेवी आई पि एम कृषक पाठशालाका अध्यक्ष कृष्ण जिसीले तालिममा भएका गतिविधिका बारेमा आफ्नो प्रतिवेदन प्रस्तुत गरे । गत पुस ८ गतेबाट चलेको तालिममा वडा नं. ४ का ३० जना किसान सहभागी थिए । तालिमको सहजीकरण रामपुर नगरपालिका कृषि शाखा कार्यालयका प्रमुख रामहरी पाण्डे, प्राविधिक अशोक श्रेष्ठ र सामाजिक परिचालिका विष्णुमाया भुसालले गरे । डेढ रोपनी जग्गामा १६ हप्तासम्म चलेको तालिममा सहभागी किसानले ३ सय २५ केजी काँक्रा उत्पादन गरेका थिए । कृषि सेवा केन्द्रको सभाहलमा भएको कार्यक्रम जलदेवी आई पि एम कृषक पाठशालाका अध्यक्ष कृष्ण जिसीको अध्यक्षता र रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेको सञ्चालनमा भएको हो ।