क्रान्तिको नक्कल नगर्न प्रचण्डको आग्रह ! - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

क्रान्तिको नक्कल नगर्न प्रचण्डको आग्रह !



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताएका छन्।

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लब समूहका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन। २०/२५ वर्षअघिको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ।’

अध्यक्ष दाहालले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिए।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत-पसिना बगाउनेकै नेतृत्वमा कम्युनिस्ट एकता हुनुपर्ने उनको धारणा थियो। उनले भने, ‘जसले बाली लगायो, उसैले थन्क्याउन पाउने नै वैज्ञानिक कुरा हो।’

दुई/चार दिन समय लिए पनि एमाले माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छाड्ने उनको भनाइ थियो। शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिस्ट केन्द्र बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालले स्मरण गरे। त्यसलाई माओवादी नेतृत्व र विचारले नै पहल गर्नुपर्ने सल्लाह भएको उनको भनाइ थियो।

अध्यक्ष दाहालले भने, ‘पहिलो संविधानसभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो। योभन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो। तर हामी सफल भइएन। हाम्रा विरोधी माओवादी आन्दोलनलाई टुक्राटुक्रा बनाउन सफल भए।’

माओवादीलाई फुटाएर परिवर्तनका मुद्दालाई लाबारिस बनाउने खतरा पैदा भएको थियो, अध्यक्षले भने। अब सबै छरिएर रहेका माओवादी ढिलोचाँडो मूल पार्टीमा फर्कने उनको विश्वास थियो।

उक्त कार्यक्रममा विप्लव समूहका सिन्धुपाल्चोक जिल्लाका इञ्चार्ज चिरन तामाङ, र सचिव कमल माझीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

उनीहरुले विप्लव नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंशतर्फ मात्र अगाडि बढेन कतिपय सामाजिक आपराधिक क्रियाकलापजन्य घटनालाई समेत क्रान्तिकारी कामको जामा पहि¥याएर अगाडि बढ्ने बाटो समातेको बताएका थिए। (रासस)