सिटौलालाई भेटेपछि शशांक र शेखर फकाउन पुगे रामचन्द्र - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सिटौलालाई भेटेपछि शशांक र शेखर फकाउन पुगे रामचन्द्र



काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका दाबेदार वरिष्ठ नेता रामचन्द्र पौडेलले महामन्त्री शशांक कोइरालालाई भेटेका छन्।

महाधिवेशनमा संस्थापनइतरबाट एकल उम्मेदवारीका लागि आफूलाई सहयोग गर्न भन्दै पौडेलले कोइरालालाई भेटेका हुन्।

आज बिहान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग भेटेका पौडेलले महामन्त्री शशांक र नेता शेखर कोइरालासग छलफल गरिरहेका छन्।

बसुन्धारास्थित गोधुली पार्टी प्यालेसमा तीन नेताबीच छलफल चलिरहेको स्रोतले जनाएको छ ।

आज बिहान अनुपम फुडल्याण्डमा भएको आफूपक्षीय नेताहरुको बैठकमा केहीबेर सहभागी भएर वरिष्ठ नेता पौडेल पूर्वमहामन्त्री सिटौलालाई भेट्न उनकै निवास पुगेका थिए।

मंगलबार महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेललाई इतर पक्षको साझा सभापति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए । त्यसपछि, इतर पक्षले साझा उम्मेदवार तय गर्न आज बिहान बैठक डाकेको थियो ।

तर, उक्त बैठकमा सभापतिका दाबेदारहरु सहभागी भएनन्। इतर पक्षका चार दाबेदारहरुको बैठक दिउँसो तीन बजे नेता प्रकाशमान सिंहको निवासमा बस्दै छ।