डा. शेखर कोइरालाले गरे नेकपाको यस्तो भविष्यबाणी - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

डा. शेखर कोइरालाले गरे नेकपाको यस्तो भविष्यबाणी



नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सत्तारुढ नेकपाले सिजिङ पिङ विचारधारा स्विकारे नेकपा आफै सकिने भविष्यबाणी गरेका छन् । नेकपाको यो कदमले नेकपा सकिने मात्र नभई मुलुक नै धरापमा पर्ने उनको दाबी छ ।

नेपाली कांग्रेस निकट प्रजातन्त्र सेनानी संघ सिन्धुपाल्चोकको अधिवेशनलार्ई चौतारामा उद्घाटन गर्दै कोइरालाले नेकपाले सिजिङ पिङ विचारधारा नेकपा र मुलुक दुबैका लागी हितकर नहुने दाबी गरेका हुन् । नेकपाले सि जिङ पिङबाट भ्रष्टाचार नियन्त्रणका विषयमा सिक्नु ठिकै भएपनि विचारधारा नै अंगाल्न खोज्नु गलत हुने उनको भनाई थियो ।

भारत र अमेरिका तर्फ संकेत गर्दै उनले नेपाल सामरिक महत्वको देश भएकाले चिनियाँ विचारधारा लागु गर्न खोज्नु गलत हुने उनले बताए । ‘सिजिङ पिङको विचारधारा कुनै पनि हालतमा नेपालमा लागु हुन सक्दैन ।’ कोइरालाले भने ।‘चीन र नेपालको राजनीतिक फरक भएकाले चिनिया विचार यहाँ कार्यान्वयन हुन नसक्ने उनले बताए ।

नेकपाको सरकारले गणतन्त्र र संघीयता अप्ठ्यारोमा पार्न थालेको कोइरालाले बताए । प्रधानमन्त्री ओलीले सिंगापुर उपचारमा जानु अघि सर्वदलीय वैठकमा संघीयता र गणतन्त्र अप्ठ्यारोमा परेका तर्फ इंगित गर्दै कोइरालाले पुर्व राजा ज्ञानेन्द्र र बिप्लव माओवादीबाट नभई प्रधानमन्त्री ओलीबाटै गणतन्त्र र संघीयतालाई खतरा रहेको बताए । उनले ओली सरकारले अप्ठ्यारोमा पार्न लागेको गणतन्त्र मजबुत बनाउने दायित्व कांग्रेसको काँधमा आएको बताएका थिए ।

कोइरालाले पार्टी नेतृत्वतर्फ इंगित गर्दै पार्टी गिरोहले सञ्चालन गरेकाले कमजोर बनेको आरोप लगाए । उनले गुट उपगुट पार्टीमा निरन्तर रहने प्रकृया भएको दृष्टान्त देखाउँदै गिरोहका कारण मात्र पार्टी कमजोर भएको धारणा राखे । काँग्रेसको भातृ संगठनहरुको नेतृत्व नहुनु र सोच विचार नगरी चुनावका बेला टिकट बाँड्दा पार्टी कमजोर भएको बताए । चुनावमा टिकट वितरणमा समस्या भयो,त्यसको लागि म यहाँहरुसँग माफी चाहान्छु,अब त्यस्तो हुदैन कोइरालाले भने । पार्टी भित्र गुटले चरम समस्या सिर्जना गरेको कोइरालाको भनाई थियो,गुट सबै पार्टी भिक हुन्छ,विपीको समयमा पनि गुट थियो तर अहिले भने बिचारको गुट भएन कोइरालाले भने । कांग्रेसले सुरु गरेको जागरण अभियानमा समेत देशभर पार्टी एक हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्री ओलीले रेल र पानी जहाजको सपना देखाएर सरकारले जनतालाई उल्लु बनाउन खोजेको बताए । पूरा हुनै नसक्ने सपना देखाएर कम्युनिष्ट सरकारले प्रपोगाण्डा मच्चाएको आरोप लगाए । काँग्रेस सरकारका पालामा सुरु भएका आयोजना भजाएर सरकारले उपलव्धि देखाएर जनतालाई ढाँटेको उनको आरोप थियो । सरकारकै कारण देशमा भ्रष्ट्रचार मौलाएको पौडेलले बताए ।

कार्यक्रममा लामो समय काँग्रेसमा कृयाशिल रहेका र विभिन्न आन्दोलनमा सहभागि भएका प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो । माओवादी युद्धमा मारिएका कांग्रेस नेता कार्यकर्ता तिनका आफन्तलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा देउवा निकट कांग्रेसका नेता कार्यकर्ताको भने सहभागीता थिएन ।