आइपिएल: कोहलीको बेंग्लोर प्लेअफबाट बाहिरिने सम्भावना - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

आइपिएल: कोहलीको बेंग्लोर प्लेअफबाट बाहिरिने सम्भावना



एजेन्सी— इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार क्वालिफायर १ का लागि दाबेदार रहेका दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोर दुवैले पराजय भोगे। मुम्बई इन्डियन्सले दिल्लीलाई र सनराइजर्स हैदराबादले बेंग्लोरलाई ५ विकेटले पराजित गर्‍यो। दिल्ली र बेंग्लोर दुवै एकतर्फी जस्तो खेलमा पराजित रहे।

टस हारेपछि ब्याटिङमा आएको विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरले शारजहाँ क्रिकेट मैदानमा ७ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो। जेसन होल्डरले १० बलमा १ चौका र ३ छक्काको मद्दतले अविजित २६ रन बनाएपछि हैदराबादले १४.१ ओभरमै लक्ष्य पूरा गर्‍यो। दिल्लीले दुबईमा ९ विकेट गुमाई बनाएको १ सय १० रनको झिनो स्कोरलाई मुम्बईले पनि १४.२ ओभरमै पूरा गरेको थियो।

अन्तिम खेलमा शीर्ष स्थानको मुम्बईमाथि विजय हात पारेमा हैदराबाद प्लेअफमा सुनिश्चित् हुनेछ। दिल्लीमाथिको जितले मुम्बईको क्वालिफायर १ को औपचारिकतालाई पूरा गरेको थियो । अन्तिम खेलमा दिल्लीसँग पराजित भएमा बेंग्लोर प्लेअफबाटै बाहिरिन पनि सक्छ। दिल्ली र बेंग्लोरबीचको खेलमा पराजित हुने टोलीलाई किंग्स इलेभेन पञ्जाबले उछिन्न सक्ने छ। पञ्जाबले आइतबार पुछारको टोली चेन्नई सुपर किंग्ससँग खेल्ने छ।

१३ खेलको समाप्ति र १ खेल खेल्न बाँकी रहेको अवस्थामा मुम्बई १८, बेंग्लोर र दिल्ली १४–१४, हैदराबाद, पञ्जाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको १२–१२ अंकसहित क्रमश पहिलोदेखि सातौं स्थानमा रहेका छन्। दोस्रोदेखि सातौं स्थानमा रहने ६ टोली प्लेअफका दाबेदारका रूपमा रहेका छन्। १० अंक रहेको चेन्नई यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ। प्लेअफका लागि अर्को महत्त्वपूर्ण खेल आइतबार कोलकाता र राजस्थानका बीच हुनेछ।

शारजहाँको सानो मैदानमा ठूलो स्कोर बन्ने अपेक्षा गरिएको थियो तर परिणाम त्यसको ठीक उल्टो आएको थियो। सन्दीप शर्माले बेंग्लोरका देवदत्त पाडिक्कललाई ५ रनमा बोल्ड गरे। सन्दीपले कप्तान कोहलीलाई ७ रनमा आउट गरी हैदराबादलाई ठूलो सफलता दिलाए। ओपनर जोस फिलिप्सले ३१ बलमा ३२ रन बनाए। एबी डी भिलियर्सले २४ बलमा २४ रन बनाए। साहबाज नदिमले डी भिलियर्सको विकेट लिएपछि हैदराबादले खेल नियन्त्रणमा लिएको थियो।

वासिङटन सुन्दर २१, क्रिस मोरिस ३, इसुरु उडाना शून्य रनमा आउट भए। गुरकिरात सिंहले अविजित १५ रन बनाए। हैदराबादका सन्दीपले ४ ओभरमा २० र होल्डरले ४ ओभरमा २७ रन खर्चेर २–२ विकेट लिए। टी नटराजन, नदिम र रसिद खानले १–१ विकेट लिए।

हैदराबादको पनि सुरुआत राम्रो रहेन। एक छक्का प्रहार गरेका कप्तान डेबिड वार्नर ८ रनमै आउट भए। उनलाई सुन्दरले आउट गरेका थिए । रिद्धिमान शाह र मनीष पाण्डेले दोस्रो विकेटमा ५० रन जोडे। शाहले ३२ बलमा ४ चौका र १ छक्कासहित ३९ र पाण्डेले १९ बलमा ३ चौका र १ छक्कासहित २६ रन बनाए। दुवैलाई युजभेन्दर चाहालले आउट गरे।

केन विलियम्सन र अभिषेक शर्मा दुवैलाई ८ रनमा आउट गरेर बेंग्लोर खेलमा फर्किन खोजेको थियो। होल्डरले १३ औं ओभरमा उडाना, १४ औं ओभरमा नवदीप सैनी र १५ औं ओभरको पहिलो बलमा चाहाललाई म्याच विजयी छक्का प्रहार गरे। चाहालले २ विकेट लिनेक्रममा ३.१ ओभरमा १९ रन खर्चेका थिए। सुन्दर, सैनी र उडानाले १–१ विकेट लिए।

दिल्लीलाई पनि गाह्रो

दुबईमा भएको शनिबारको पहिलो खेलमा जहाँ मुम्बई इन्डियन्सको स्थिति बलियो थियो भने त्यहीं दिल्ली क्यापिटल्सलाई अझ गाह्रो हुने निश्चित भएको छ। दुवैको दोस्रो अन्तिम खेलमा मुम्बई आरामले नौ विकेटले विजयी रह्यो र यो नतिजापछि डिफेन्डिङ च्याम्पियन कम्तीमा शीर्ष दुईमा रहने निश्चित भएको छ। यसको अर्थ मुम्बईले क्वालिफायर–१ खेल्ने पक्का भएको छ। मुम्बईको १८ अंक भएको छ र ढुक्कसँग पहिलो स्थानमा छ।

टस जितेर पहिले ब्याटिङका लागि ओर्लेको दिल्लीले २० ओभरमा नौ विकेट गुमाएर १ सय १० रन मात्र बनायो। मुम्बईका जसप्रित बुमराह र ट्रेन्ट बोल्टले तीन–तीन विकेट लिए । त्यस अगाडि दिल्लीका कोही पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर शिखर धवनलाई बोल्टले पहिलो ओभरमा शून्यमा आउट गरेपछि दिल्लीले कुनै समय पनि खुलेर खेल्न सकेन्। अर्का ओपनर पृथ्वी शले पनि १० रनमात्र बनाउन सकेन।

कप्तान श्रेयस अयरले बनाएको २५ रननै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। रिशभ पन्तले २१ रन बनाए। बोल्टले आफ्नो टोलीविरुद्ध ४ ओभरमा २० रनमात्र र बुमराहले ४ ओभरमा १७ रनमात्र खर्चेका थिए। नाथन कटलर निल र राहुल चाहारले १–१ विकेट लिए।

जवाफमा मुम्बई कुनै पनि समय दबाबमा देखिएन र १४.२ ओभरमा एक विकेट मात्र गुमाएर १ सय ११ रन बनायो। प्रारम्भिक ब्याट्सम्यान इशान किसन ७२ रन बनाएर अविजित रहे। उनले पहिलो विकेटका लागि क्विन्टन डे ककसँग १०.२ ओभरभित्र ६८ रनको साझेदारी गरे र त्यति बेलासम्म खेल दिल्लीको पकडबाट बाहिर गइसकेको थियो। डे ककले २६ रन बनाए। म्यान अफ द म्याच किसनले आठ चौका र तीन छक्का प्रहार गरे। सिजनको अधिकांश समय शीर्ष स्थानमा रहेको दिल्लीको यो चौथो हार हो। अन्तिम खेलमा बेंग्लोरविरुद्ध जित निकाल्न नसके दिल्ली प्लेअफ दौडबाट बाहिरिन पनि सक्छ। जबकी त्यही बेंग्लोरमाथी जित निकाल्न सके दिल्लीले फाइनलमा स्थान पाउन मुम्बईसँग क्वालिफायर १ मा खेल्न पनि सक्छ।

खेलपछि दिल्ली कप्तान अयरले आफ्नो टिमले पिचको व्यवहारबारे सही अनुमान गर्न नसकेको स्विकारे र टिमको प्रदर्श उतारचढावपूर्ण रहेको माने । ‘हामीले चाँडै पहिलो विकेट सस्तोमा गुमायौं र दबाबमा आयौं। अब हाम्रो लागि अन्तिम खेल गर या मरको जस्तै हुनेछ । त्यो खेल अगाडि हामीसामु सकारात्मक हुनेबाहेक अर्को विकल्प छैन।’ प्रतियोगिताको सुरुमा राम्रो प्रदर्शन गरेको दिल्लीले पछिल्लो समय भने त्यसलाई दोहोर्‍याउन सकेको छैन र लगातार खराब प्रदर्शनसँगै दबाबमा आएको छ।