'कोहलपुर एक्सप्रेस' भारतीय फिल्म ‘मुम्बई एक्सप्रेसु’को फोटोकपी ! - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

‘कोहलपुर एक्सप्रेस’ भारतीय फिल्म ‘मुम्बई एक्सप्रेसु’को फोटोकपी !



काठमाडौं । नेपाली फिल्म क्षेत्रमा केकी अधिकारीलाई बौद्धिक नायिकाको रुपमा चिन्ने गरिन्छ । करीब एक दशक नेपाली फिल्ममा आफ्नो अभिनयमार्फत् फरक पहिचान बनाएकी उनी गएको हप्ताको शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बाट निर्मात्रीको रुपमा उदाएकी छिन् ।

यो दक्षिण भारतीय फिल्म मुम्बई एक्सप्रेसको फोटोकपी रहेको चौतर्फी आलोचना भइरहँदा पनि केकी भने ‘इन्स्पायर्ड’ मात्र भएको भन्दै आफू अछुतो बन्न खोजिरहेकी छिन् । तर, दर्शकहरु उनी जस्तो नायिकाले भारतीय फिल्मबाट प्रभावित भएर फिल्म निर्माण गर्नु दुःखको कुरा रहेको बताउँछन् ।

सामाजिक सञ्जालमा फिल्मको विषयमा दर्शकको मिश्रित प्रतिक्रिया छ । कतिले गुणस्तरिय फिल्म बनेको भन्दै तारिफ गरिरहेका छन् भने कतिले फोटोकपी फिल्म भएको भन्दै चर्को आलोचना गरिरहेका फिल्म खबरमा समाचार छ ।

हलिउडको सुपरहिरो फिल्म ‘एभेन्जर्स स् इन्फीनिटी वार’ का कारण मल्टिप्लेक्समा ‘कोहलपुर एक्सप्रेस’ रुनु न हाँस्नु स्थितीमा छ । सिंगल हलमा पनि फिल्मले पहिलो हप्ता उत्साहजनक व्यापार गर्न सकेन । तर, केकी विस्तारै हलमा दर्शकको ुफ्लोु बढेको दाबी गर्छिन् । यतिमात्र होइन उनले बिहीवार फिल्म सफल भएको भन्दै केक समेत काटिन् ।

केक काट्नुको मुख्य उद्येश्य फिल्मले एक हप्तामा एक करोड कलेक्सन गरेको जानकारी मिडियामा दिनु थियो । केकीले केक काट्दै गर्दा भनिन्, कलेक्सनको संख्या भन्दा पनि हाम्रो मेहनतलाई दर्शकले रुचाइदिनुभयो । त्यो नै हाम्रो लागि ठूलो सफलता हो ।

केकीले १ करोडको केक काट्दै गर्दा उनी यतिबेला सामाजिक सञ्जालमा मजाकको पात्र बनेकी छिन् । नेपालमा बक्सअफिस लागू नहुँदा निर्माताले जति भनेपनि फिल्मको कलेक्सन रिपोर्ट पत्याउनु पर्ने अवस्था छ । तर, एकाध फिल्मबाहेक अन्य फिल्मको कलेक्सन रिपोर्ट सबै हावादारी हुन्छन् ।

‘कोहलपुर एक्सप्रेस’ ले एक हप्तामा करोड कलेक्सन गरेको खबर निर्माताबाट आउनु अनौठो भएन । तर, उनले फिल्म सफलतापूर्वक प्रदर्शन भइरहेको भन्दै केक काटेर खुसीयाली मनाउनुले चाहिँ ठूलो प्रश्न चिन्ह खडा गरेको छ । उनी आफूले आफैंलाई ‘कोहलपुर एक्सप्रेस’ हिट भएको भन्ने विश्वास दिलाउन सक्छिन् वा सक्दिनन् यो प्रमुख कुरा हो ।

अहिले केकीमाथी जसरी पनि आफू निर्मित पहिलो फिल्म हिट बनाउन खोजेको आरोप छ । दक्षिण भारतीय फिल्मबाट कपी भएको खबर सर्वत्र हुँदा फिल्मको विदेश प्रदर्शन चौपट हुने अवस्थामा छ । यसकारण पनि उनी कतै यस्ता फन्डा निकालेर जर्वजस्ती रुपमा फिल्म हिट भएको भन्ने साबित गर्न त खोजिरहेकी छैनन् ?