को हुन डा. सीके राउत ? यस्तो छ रोचक कहानी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

को हुन डा. सीके राउत ? यस्तो छ रोचक कहानी



काठमाडौं । सप्तरीको महदेवा गाउँमा जन्मेका डा. सिके राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत थिए । उनी सन् २०११ को अन्त्यतिर राजीनामा दिएर नेपाल फर्किए । डा. राउतले नेपालमै युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मान प्राप्त गरेका छन् ।

अमेरिकामा रहँदा उनी गैरआवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि भए । ललितपुरको पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा कार्यरत भए ।

राउत जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा अध्ययनका लागि जापान गए । जापानबाट फर्किएपछि सन् २००४ को अगस्टमा गेरू वस्त्र लिएर आध्यात्मिकताका लागि भारतको कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपवर्ती प्रशान्ति निलयमसम्म पुगे । सिकेले लेखेको आफ्नो आत्मकथा ‘बैरागदेखि बचाउसम्म’ मा उनले त्यही क्रममा पहिचानको ब्रह्मज्ञान भेट्टाएको लेखेका छन् । केही समयपछि उनी फेरि जापान फर्किए ।

जापानमा अध्ययनकै क्रममा उनी बिरामी परे । अस्पतालमै उनले आफ्नो थेसिस लेखे । जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिभर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट पनि भए । सिके राउत पहिलोपटक गाउँबाट इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा नेपालमा भारतीय कलाकार ऋतिक रोशन काण्ड भएको थियो । उनी जापान जाने क्रममा इराकका आतंकवादीहरुले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दङ्गा भड्किएको थियो ।

ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिँदै आएका छन् । उनले आफ्नो आत्मकथामा पनि यी प्रसंगबारे उल्लेख गरेका छन् । नेपाल फर्किएपछि सिके राउत विखण्डनको पक्षमा बोल्न थाले । उनले ‘स्वतन्त्र मधेस’ र छुट्टै देशको नारा अघि सारे । पछिल्लो समय राउतलाई आन्तरिक सुरक्षामा ठूलो चुनौतीको रुपमा लिइएको थियो । विखण्डनको माग राख्दै गर्दा उनी पटक–पटक पक्राउ हुँदै छुट्दै आएका थिए । उनीविरुद्ध पटक–पटक राज्य विप्लवको मुद्दा दायर गरिएको थियो । राउतलाई पश्चिमा राष्ट्रहरुले नेपालमा प्रयोग गरेको आरोप लाग्दै आएको थियो ।

यस्ता थिए सिके राउतका विखण्डनकारी ८ नारा

१. मधेसलाई सार्वभौम र स्वतन्त्र राष्ट्र घोषणा गर्दै अन्तरिम मधेस सरकार बनाउने । जसले राज्यको संक्रमणकालको व्यवस्थापन, प्रशासन निर्माण तथा निर्वाचन गरेर संविधानको मस्यौदा तयार पार्नेछ ।

२. नेपाली अधिपत्यसहितको प्रशासनिक संयन्त्र हटाएर मधेस प्रशासनको स्थापना गर्ने ।

३. नेपाली सेनालाई मधेशबाट हटाएर मधेसी सेनाको स्थापना गर्ने ।

४. सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हटाएर मधेसी प्रहरीको स्थापना गर्ने ।

५. नेपाल सरकारले मधेसबाट उठाउने गरेका सबै कर बन्द गराउने ।

६. मधेसीबाट लिइएको भूमि फिर्ता गराउने ।

७. मधेसमा रहेको जमिन, पानी, वन तथा अन्य प्राकृतिक स्रोतमाथि नेपाल सरकारको नियन्त्रण हटाउने ।

८. संयुक्त राष्ट्रसंघ तथा विश्वका अन्य सार्वभौम मुलुकहरुमा कूटनीतिक तथा कन्सुलर कार्यालय सञ्चालनका लागि पहल गर्ने ।