को बन्छ करोडपति : विजेता राजिव जैनलाई एक करोडको चेक हस्तान्तरण - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

को बन्छ करोडपति : विजेता राजिव जैनलाई एक करोडको चेक हस्तान्तरण



काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति’ का विजेता राजीव जैनलाई एक करोडको चेक हस्तान्तरण गरिएको छ । बिहिबार ललितपुर स्थित होटल हिमालयमा आयोजित एक कार्यक्रमका बीच विजेता जैनलाई एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, कार्यक्रम प्रस्तोता महानायक राजेश हमाल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ, क्रियटिम निर्देशक सुरक्षा अधिकारी लगायतले १ करोडको चेक हस्तान्तरण गरेका थिए ।

केबिसीको पहिलो संस्करणमा विजेता बनेको झण्डै तीन महिनापछि उनले १ करोड पाएका हुन् । एपीवान टेलिभिजनबाट प्रशारण भएको उक्त कार्यक्रममा १ करोड जितेपछि सुरुमा राजीब जैनले उक्त रकमले केहि हिस्सा समाजसेवा तथा विश्व भ्रमणमा खर्चिने बताएका थिए । बिहीबार रकम बुझेपछि उनले नेपालका धेरै स्थान घुम्न बाँकी रहेकाले मन बदलिएको बताए । उनले भने, ‘नेपाल घुमेपछि मात्रै बाहिरी मुलुक घुम्ने योजना बनाएको छु, केहि रकम समाजसेवामा पनि लगाउनेछु ।’

चेक हस्तान्तरण कार्यक्रममा एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपीन कुमार आचार्यले ‘को बन्छ करोडपती’ लाई दर्शकले मन पराएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘हाम्रो पहिलो प्रयासलाई दर्शकले सहर्ष स्विकार्नुका साथै अत्याधिक माया समेत दिनुभयो, अब हामीलाई दोस्रो सिजन अझै भव्य र सभ्य बनाउन प्रेरणा समेत मिलेको छ ।’सिइओ आचार्यले कार्यक्रम सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा सम्पुर्ण सहयोगीहरु प्रति आभार व्यक्त गर्दै सिजन २ भन्दा अघि कुनै कार्यक्रम ल्याउन सक्ने संकेत समेत गरे । भने, ‘हामीले त्यसको केहि तयारी गरिरहेका छौं, केहि हप्तामै पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराउनेछौं । तर, केहि न केहि ल्याउने योजना बनाएका भने पक्कै छौं ।’

कार्यक्रममा क्रियटिम प्रमुख सुरक्षा अधिकारी, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।चेक हस्तान्तरणको अवसरमा आफ्नो भनाई राख्दै महानायक तथा कार्यक्रम प्रस्तोता राजेश हमालले पहिलो सिजन आफुहरुको अपेक्षा भन्दा धेरै सफल भएकोमा खुसी लागेको सुनाए । उनले आगामी शो थप भव्य बनाउनका लागी आयोजक एसआरविएन मिडियालाई तयारी थाल्न समेत आग्रह गरे । ‘को बन्छ करोडपति’को चेक हस्तान्तरणको अवसरमा सहयोगी र विज्ञापन दातालाई मायाको चिनो हस्तान्तरण समेत गरिएको थियो ।

फोटो : साप्ताहिक डट कम