किर्तेमा फसेका नेपालीको उद्धार.. - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

किर्तेमा फसेका नेपालीको उद्धार..



कान्तिपुर : काठमाडौँ । कम्पनीको छलमा परेर फस्न पुगेका ७ नेपाली कामदारलाई कतार सरकारले विशेष निर्णय गरी नेपाल पठाएको छ । स्वीस इन्जिनियरिङ फर कन्स्ट्रक्टर कम्पनीले यात्रामा प्रतिबन्ध लगाई ७ नेपालीविरुद्ध क्रिमिनल अदालतमा मुद्दा दायर गरेको थियो ।

कतारस्थित नेपाली दूतावासका अनुसार कतारको गृह मन्त्रालयले अदालतको फैसला आउनुअघि नै विशेष निर्णय गरी नेपाल पठाएको हो । दूतावासका अनुसार जीतबहादुर विक, हरिकुमार थापा, श्याम केवट, गिरीराज पंगेनी, श्यामलाल राना, रामकृष्ण गुरुङ र कृष्णबहादुर दर्जीलाई नेपाल पठाइएको हो ।
कम्पनीले उनीहरूसँग ६३ हजार रियाल (१८ लाख ९० हजार रुपैयाँ) माग गरी अदालतमा मुद्दा दायर गर्नुका साथै कम्पनी छाडेर हिँडेको (भागेको) भन्दै खोज तथा अनुसन्धान विभागमा उजुरी हालेको थियो।

‘हरेक कामदारलाई १५ दिनको ओभरटाइमको हिसाब मिलाउँछु भन्दै कम्पनीले खाली कागजमा हस्ताक्षर गराएछ । सीधासोझा नेपालीले भनेबमोजिम खाली कागजमा हस्ताक्षर गरे,’ श्रम सहचारी नरेन्द्र ज्ञवालीले भने, ‘कम्पनीबाट उनीहरूले तीन महिनाको तलब पाएका थिएनन् । तलब नदिएपछि नेपाल पठाउन उनीहरूले दबाब दिएपछि कम्पनीले खाली कागजमा गरेको हस्ताक्षरको दुरुपयोग गरेको हो ।’

कम्पनीबाट अन्यायपूर्ण व्यवहार भएपछि नेपाली दूतावासले खोज तथा अनुसन्धान विभागसमक्ष नेपाली कामदारको जिम्मा लगाएको थियो । ती कामदारलाई विभागले घर फिर्ती केन्द्रमा झन्डै दुई महिना राखेर नेपाल पठाएको हो ।

पीडित नेपाली कामदारले आफूहरूले अनावश्यक रूपमा सास्ती पाएको बताए । ‘हामीले ठूलो मानसिक तनाव भोग्नुपर्‍यो । परिवारमा चिन्ता थपियो,’ जीतबहादुर विकले भने, ‘अदालतको फैसला पर्खेर बस्नुपरेन । यसमै हामी खुसी छौं ।’ दूतावासले स्वीस कम्पनीलाई नेपाली कामदार नपठाउन श्रम मन्त्रालयलाई अनुरोध गरेको छ ।फाइल तस्वीर :