ओलीको मिर्गौला प्रत्यारोपणको यस्तो तयारी - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

ओलीको मिर्गौला प्रत्यारोपणको यस्तो तयारी



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको प्रक्रिया फागुनमा सुरु गर्ने तयारी गरिएको छ । प्रत्यारोपण गराउने अस्पतालको चयन भने भइसकेको छैन । ‘उहाँले सबै राजनीतिक कुरा क्लियर गरेपछि फागुनसम्ममा प्रत्यारोपण प्रक्रिया सुरु गर्ने लक्ष्य राखिएको छ,’ प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकले भने, ‘स्वास्थ्य स्थितिमा कुनै समस्या देखिए पछाडि सर्न पनि सक्छ ।’

ओलीको नियमित फलोअप त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । सातामा दुईपटक हेमोडायलसिस गराइरहेका प्रधानमन्त्रीको स्वास्थ्य स्थिति ‘स्थिर’ छ । मंसिरमा १० दिनको अस्पताल बसाइपछि केही सावधानी अपनाउँदै उनी नियमित काममा फर्किसकेका छन् ।

बाहिरबाट हेर्दा एपेन्डेसाइटिस शल्यक्रियाको घाउ निको भएको देखिए पनि त्यो ठाउँ बलियो हुन अझै एक महिना लाग्न सक्ने आकलन चिकित्सकहरूको छ । पेटको शल्यक्रियाको असरबाट पूर्ण मुक्त भएपछि मात्र चिकित्सकहरूले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी थाल्नेछन् ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सक टोलीले स्वास्थ्य स्थितिमा अप्रत्याशित कुनै जटिलता, जोखिम वा कुनै सम्भावित खतरा नदेखिए फागुनमा प्रत्यारोपण प्रक्रिया सुरु गर्ने सोच बनाएको हो ।

सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालबाट गत भदौमा ७ पटक प्लाज्मा फेरेसिस गराएर फर्केपछि समेत मिर्गौलाले राम्ररी काम नगरेपछि डायलसिस हुँदै आएको छ । प्रत्यारोपणबारे चिकित्सकहरूले परामर्श गरिरहेका बेला ओलीको एपेन्डिक्सको शल्यक्रिया गत मंसिर १० गते गर्नुपरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

शल्यक्रियाले गर्दा आएको जटिलताका कारण प्रत्यारोपण प्रक्रिया रोकिएको हो । ६७ वर्षीय प्रधानमन्त्री ओलीको १३ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

‘प्रत्यारोपणको विकल्प छैन’

भारतस्थित फोर्टिस हस्पिटल, नेफ्रोलजीका निर्देशक प्रा।डा। सञ्जीव गुलाटी मिर्गौला फेल भएका बिरामीका लागि नियमित डायलसिसभन्दा प्रत्यारोपण धेरै सुरक्षित र उपयुक्त हुने बताउँछन् ।

‘सामान्य अवस्थामा नियमित डायलसिसभन्दा प्रत्यारोपण गराउनु चार–पाँच गुणा राम्रो हुन्छ,’ उनले भने, ‘सय जनालाई अमेरिकामा जस्तै डायलसिस गरेर राख्यौं भने पनि ५ वर्षपछि २० जना जतिमात्र जीवित रहने गरेको पाइन्छ ।’ प्रत्यारोपण गर्दा हरेक वर्ष सयमा ३–४ जनालाई मात्र समस्या आउने र अरू पूर्ण स्वस्थ रहने गरेको उनले बताए ।

उनका अनुसार सामान्यतया बिरामीहरू प्रत्यारोपण गराएको दुई महिनामा आफ्नो काममा फर्कन सक्छन् ।