श्री ५ महाराज धिराज खड्गप्रसाद ज्युलाई खुला पत्र - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

श्री ५ महाराज धिराज खड्गप्रसाद ज्युलाई खुला पत्र



~~मदन मगर~~ 

श्री ५ महाराज धिराज खड्गप्रसाद ओली ज्यू ,
म सोचमग्न भएको छु , अझ भन्नुपर्दा म पश्चात्तापमा पिल्सी रहेको छु। पश्चात्ताप यो लाग्दै छ कि मैले कुनै दिन नेकपालाई भोट दिएको थिए र हजुरको झुटो देशभक्तिका नारामा आफ्नो प्राण आहुति गर्न पनि तम्तयार थिए । लाग्थ्यो मुडी नै भए पनि हाम्रा नवमाहाराजले केही गर्छन्, देशलाई दुई तीन फड्को अगाडी सार्छन ।

साथीहरूले चिया पसलमा हजुरको खेदो खन्दा कम ता पिर परेको थिएन,कति पटक आफैँलाई भने जस्तो पो लाग्थ्यो । कति पटक सहेर बसेँ, कति पटक झगडा गरेर बसें । हजुरको लागि मैले बचपनको साथीलाई त्यहीँ चियापसलमा छोडेर आएको छु । उनीहरूले यो उखान टुक्काले देश सम्हाल्न सक्दैन, उसलाई सर्कसमा पठाईदिए हुन्छ भन्थे । कता कता मेरो मनले मान्दैनथ्यो, लाग्थ्यो देशलाई यस्तै अडान राख्ने व्यक्ति चाहिएको छ । तर आज आएर सोच्दै छु शायद उनीहरू सही भन्दै थिए । मलाई हजुरको मूर्खताभन्दा आफ्नो मूर्खता प्रति खेद लागेको छ । सरकार मलाई मेरो भोट फिर्ता चाहियो ।  बैङ्कले ऋण दिन्छ, ऋणीले सबै वाचा पुरा नगरे ऋण फिर्ता लिन्छ । हो मैले पनि हजुर र हजुरको पार्टीलाई एक भोट ऋण दिएको थिए, मलाई मेरो भोट फिर्ता चाहियो नत्र मैले प्रहरीमा रिपोर्ट गर्न पाउनु पर्यो । मैले त्यो ऋणसँगै जनताको आशा र भरोसा पनि लगानी गरेको थिए, मलाई त्यो लगानी पनि फिर्ता चाहियो ।

सरकार हजुरलाई महाराज धिराजको सम्मान दिनुको पछाडि पनि कारण लुकेको छ । सरकारको कार्यशैली र भाषणबाजी सुन्दा कता कता मलाई भू पू महाराजहरुको झझल्को आउंछ । साथै याद आउँछ चर्चित लेखक जर्ज ओर्वेलको पुस्तक “एनिमल फार्म” । लाग्छ नेपालको हालत पनि त्यही एनिमल फार्मको हविगत हुँदैछ । उक्त पुस्तकमा मानवहरूको अत्याचारबाट आजित जनवारहरु सबै मिलेर मानव विरुद्ध विद्रोह गर्छन् र सफल पनि हुन्छन । मानवहरूलाई हटाई सकेपछि सबै जनावरहरू समान भएको घोषणा गर्छन् तर सुँगुरहरूले बिस्तारै नेतृत्व आफ्नो हातमा लिन थाल्छन । समयक्रमसंगै सुँगुरहरूमा पनि स्वार्थ जाग्छ र उनीहरू आफूलाई अरू जनावर भन्दा विशेष भएको महसुस गर्न थाल्छन् अनि अरूलाई दमन गर्न थाल्छन । जसमा उनीहरूले भन्छन्, “All animals are equal but some are more equal than others.” त्यसरी फेरी पनि उही मालिक र नोकरको चक्र चलिरहन्छ अनन्त कालसम्म ।

श्री ५ महाराज धिराज खड्ग प्रसाद ओली ज्यू ,
सुनेको छु त्यहाँ खाल्डोमा कोही पागल डाक्टर सत्याग्रह गर्दै छ रे ? सत्य हराएको राजनीतिमा सत्यको आग्रह गर्दैछ रे, मेडिकल माफियाको विरुद्ध एक्लै संगर्ष गर्दैछ रे, सबैले सुलभ स्वास्थ्य सेवा पाउनुपर्छ भन्दै भोक भोकै मर्दैछ रे । हजुरले भन्नु भएको थियो, एकदुई जनाले जिद्दी गर्दैमा सरकार टसमस हुँदैन, महाराज ज्यू जब एकदुई जनाको जिद्दीपन समस्त देशवासीको जिद्दीपन बन्छ त्यति बेला सरकार त के पुरै देश हलिन्छ । हजुर त नाटकको एक पात्र मात्र हो, हामी सबै त्यो नाटकको पात्र हौँ , हजुरलाई अलिकति धेरै रोल मात्र दिइएको हो । त्यसको मतलब यो नसोच्नुस् कि हजुर नै अधिपति हो, लेखक पनि आफैँ, नाटक पनि आफैँ र पात्र पनि आफै ।
सरकार ती पागल डाक्टरलाई गएर भनिदिनु, उनी एक्लै छैनन्, उनी सँगै करोडौँ देशवासीहरू छन् । शायद दुईचार जना मर्दैमा खासै फरक नपर्ला तर दुई चार करोडको आशा भरोसा मर्दा जुन ज्वालामुखी उत्पन्न हुनेछ त्यसले हजुरको श्रीपेच जलाउन सक्छ । सरकार हजुरलाई पत्र लेख्दै गर्दा म अहिले जाजरकोटमा छु। कुनै पुरानो घरको आँगनमा, एक जना युवाले सिटामोल नपाएर भर्खर देह त्यागेका छन् । उनका बाआमाका आँखामा आँसु भन्दा पनि बढी पीडा झल्किरहेको छ, भोलिको पीडा, किनकि उनको अर्को छोरो पनि बिरामी परेको छ । हजुर त्यो खाल्डोमा मुठ्ठीभर मेडिकल माफियालाई पोस्दै हुनुहुन्छ तर हजुरलाई भोट दिने लाखौँ जनताहरू सिटामोल नपाएर मरिरहेका छन् । लाखौँ जनताको जीवन रक्षाको लागि लडिरहेका डा. गोविन्द केसीलाई हाम्रो समर्थन छ । मैले महाराजलाई पत्र लेख्दै गरेको देखेर उनीहरू मेरो नजिक आएका छन् । डोकोमा घाँस काटेर फर्किँदै गरेकी हर्कमाया दिदीले भनिन, “भाइ टि नैंया महाराजलाई आफ्नो समस्या सुनाइ डीनु”| एक जना हट्टाकट्टा युवा ढुङ्गामा लाठी बजार्दै भन्दै छ, “डाक्टरलाई समर्थन गरिन्छ परे फेरी यस्ता नवमाहाराजलाई स्वाद चखाईन्छ” । सुन्दै छु त्यो पहिलेको महाराजलाई सत्ताबाट बिदा गर्ने युद्धमा ऊ पनि सामेल थियो रे ।

श्री ५ महाराज धिराज खड्गप्रसाद ओली ज्यू ,
यो पत्र लेख्दैगर्दा अहिले म आफ्नो घरमा छु, मेरो बुवा रुखबाट लडेर १० दिनदेखि थलिनु भएको ।उहाँलाई जिल्ला अस्पतालले काठमान्डौ रिफर गरेको छ । तर जाऊँ भन्दा मेरो बुवा पर्दैन यतै ठिक हुन्छ भन्नुहुन्छ । उहाँलाई जिद्दी गरेर लाने हिम्मत मसँग छैन किनकि मलाई थाह छ काठमाडौँको अस्पताल मेरो क्षमता भन्दा परको कुरा हो । पुत्रको जिम्मेवारी पुरा गर्न नसक्दा म जीवनमा पहिलो पल्ट लाचारीपन आभास गर्दै छु । हामी बिचको मौनतामा जुन अदृश्य पीडा लुकेको छ, शायद महाराजलाई हेक्का नहुन सक्छ । महाराज त ज्वरो आउँदा पनि ब्यांकक उड्नु हुन्छ र राज्यको करोडौँ ढुकुटी उडाउनु हुन्छ तर हामी जस्ता मध्यम वर्गीय परिवार घरमै थलिन बाध्य भएका छौं । डा. केसीलाई म र मेरो बुवाको समर्थन छ । सरकार आमाको कोखमा गानो पलाएको पनि बर्षौ बितिसक्यो, अझै पटुकीले पीडा बाँधेर राख्नु हुन्छ, अस्पताल जान मान्नु हुन्न किनकि उहाँलाई डर छ कतै औषधी किन्न घरको बारी बेच्नु नपरोस , म पनि कर गर्न सक्दिन । डा केसीलाई म र मेरी आमाको समर्थन छ ।

सरकार यो पत्र लेख्दै गर्दा म एक जना वृद्धसँग साख खोलाको बगरमा बसेको छु । उहाँ सकि नसकी गिट्टी कुट्दै हुनुहुन्छ । एकदुई रुपैयाँ भए पनि जम्मा गर्न मरी आँट्नु भएको छ । भन्नु हुन्छ बुढेसकालमा दुख बिमार हुँदा काम लाग्ला बाबु, छोराछोरीलाई किन भार बढाउनु र वैकुण्ठ जाने बेलामा तर शायद उहाँलाई थाह नहुन सक्छ भविष्यको चिन्तामा उहाँ वर्तमान खाइरहनु भएको छ । स्वास्थ्यसेवा यति बिघ्न महँगो छ कि जो कोही पनि अस्पताल जाँदा २० पटक सोच्ने गर्छ । डा केसीलाई ती वृद्धको समर्थन छ । उनले (सुए)… लामो सास तानेर भने, “तपाईँलाई एउटा गाँठी कुरो भनु बाबु , नेपालीहरू धामी झाँक्रीकोमा जानु अशिक्षित र रुढिबादी भएर होइन, सस्तो परेर हो, नत्र बाँच्न कल्लाई मुन छैन र ?” यसमा दोषी को महाराज म प्रश्न सोध्न बाध्य भएको छु ।

सरकार म पत्र लेख्दै गर्दा साउदीको कुनै मरुभूमिमा छु, एक नौजवान मेरो छेउमै उभिएका छन् । उनका मालिकका भेडाहरू परपरसम्म चरिरहेका छन् । ५० डिग्रीको तापक्रममा लाग्दै छ मेरो कलम पग्लिएर पत्रमा पोखिने छ रगत बनेर, जिउबाट छाला उप्किने छ । उनी भन्दैछन्, “ भाइ गाउँमा केही छैन कमाइ हुने बाटो , सरकारी स्कुलमा पढियो, पढाई पनि राम्रो भएन छोराछोरीको लागि बोर्डिंगका किताब, बाको लागि सुगरको औषधी अनि आमाको लागि ग्यास्ट्रिकको औषधी किन्न आएको छु खाडीमा ।” म उत्तर विहीन भएको छु । उनि भन्दैछन्, “सारै राम्रो काम गर्दै छन् डाक्टर बाजे उनलाई मेरो समर्थन छ मरुभुमिबाट ।”

सरकार यो पत्र लेख्दै गर्दा म सिराहाको सुकिपुर गाउँमा छु । विषालु सर्पले टोकेर छटपटाईरहेकी सानी छोरीलाई गतिलो अस्पतालमा लग्न नपाउँदा जुन निरहिपन आमाको नयनमा देख्दै छु, म लख काट्नु सक्छु पक्कै पनि महाराजलाई सराप्दै छिन उनी आमा । छोरीलाई चकटीले हम्कींदै उनले भनिन, “डाक्टर सापलाई हामीको पनि समर्थन जनाउँछ |”

श्री ५ महाराज अधिराज खड्गप्रसाद ओली ज्यू ,
डा. केसीको माग फगत उनको व्यक्तिगत माग होइन त्यो समस्त नेपालीको माग हो । के मागेका छन् र उनले? तपाईँको कुर्सी मागेका छैनन् बस् विज्ञहरूको समूह माथेमा आयोगले सिफारिस गरेको कुरा लागु हुनुपर्छ मात्र भनेका छन्, जसमा अत्यधिक शुल्क लिएर विद्यार्थी र अभिभावाकहरुको ढाड सेक्न पाइन्न भनिएको छ, स्वास्थ्य नक्षत्रलाई कमाई खाने भाँडो मात्र बनाउनु हुन्न भनिएको छ । मेडिकल कलेजहरू काठमाडौँ मात्र सीमित हुनुहुँदैन भनिएको छ, स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्छ भनिएको छ । यदि कम्युनिस्टको सरकारमा यति जायज माग राख्नु गलत हो भने सरकार मलाई हजुरको बुद्धिमता प्रति शङ्का जागेर आउंछ । अब हजुरको अगाडी दुई विकल्प छन् । बर्षौं पहिले जलाई सकिएको श्रीपेच फेरी लगाउने र मेडिकल माफियालाई समर्थन गरेर मार्सी चामलको ऋण तिर्ने अनि इतिहासमा कलङ्कित हुने या फिर देश र जनताको भावअनुरुप जनहितमा काम गरेर माटोको मूल्य चुक्ता गर्ने र इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेख्ने ।

सरकार डाक्टर केसीमाथि आरोप छ कि उनी झन्डा मुनि बसे । सरकार उनी झन्डा मुनि बसेका छैनन् । यदि कसैले उनी बसेको माती पट्टि झन्डा राख्छ भने त्यो उनको सरोकारको विषय होइन । फेरी सरकारलाई झन्डासँग किन सरोकार ? यदि माग सही छन् भने ती चाहे झन्डावालाले उठाउन या फिर अरू कसैले त्यसको सही सम्बोधन गर्नु सरकारको कर्तव्य हुन आउंछ । हो यो सत्य हो कि काँग्रेसले आफ्नो स्वार्थ अनुरूप प्रयोग गर्न खोज्दै छ तर उसलाई यस्तो माहौल स्वयम् सरकारले जुराई दिएको हो । यदि सरकारले समयमै डा. केसीका मागहरूको सही सम्बोधन गर्थ्यो भने, काँग्रेसले यसलाई राजनैतिक मुद्दा बनाउने मौका पाउन्थेन होला । अझै ढिला भइसकेको छैन महाराजले समयमै बुद्धि पुराएको बेस होला ।

सरकार, डा. केसी एक्लै छैनन् उनको पछाडि लाखौँ जनताको समर्थन छ भन्ने कुरा शनिवार माइतीघरमा उनको समर्थनमा भेला भएको जनलहरले पनि प्रस्ट दर्साउँछ । त्यहाँ उपस्थित प्रत्येक व्यक्ति तुलनात्मक रूपमा सय बराबर छ किनकि उनीहरू स्वतस्फुर्तरुपमा भेला भएका हुन् कुनै पार्टीको व्हिपमा भएका होइनन् या ६२/६३ को आन्दोलनमा  तत्कालीन माओवादी पार्टीले बन्दुकले तर्साएर सहभागी गराइएका होइनन् । जाहिर छ जहाँ स्वतःस्फूर्त रूपमा कर्म हुन्छ त्यहाँ ज्वारभाटा त हुन्छ नै । डा. केसीलाई यदि कथंकदाचित तलमाथि भइहाल्यो भने देशले मूल्य चुकाउनु त पर्ने नै छ, सबै भन्दा बढी मूल्य नेकपा र स्वयम् सरकारले चुकाउनु पर्ने छ । आक्रोसित जनलहरबाट बच्न शायद फेरी महाराजले श्रीपेच गुमाउनु पर्ने छ । अनि त्यसको पापबाट नेकपाको अवसान सुरु हुनेछ ।

हजुरको शुभचिन्तक जनता