खोटाङमा असिना पानी र चट्याङले आठ जना घाइते - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

खोटाङमा असिना पानी र चट्याङले आठ जना घाइते



खोटाङ – हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, त्यही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् ।

घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताउनुभयो । उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा पुर्‍याएका थिए ।

घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास–प्रश्वासमा समस्या देखिएको जनाइएको छ ।