खिमु केसीका तीन गजल - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

खिमु केसीका तीन गजल



-खिमु केसी

परदेश

हुनेले आकाशबाट पनि जमिन हेर्छ
युरोप,अमेरिका अनि चीन हेर्छ ।।

छोरालाई परदेश जाने मनै थिएन
घरमा बाको थाप्लामा रिन हेर्छ ।।

भन्दियो सजिलै उसले सबै बिर्स्यो
जसले सधै घर फर्कने दिन हेर्छ ।।

मन बुझाउन मनहरु नभेटेपछि ऊ
बा र आमाको तस्वीर एकछिन हेर्छ।।

मरेपछि अमर

तिम्रो सधै म सङ्ग टक्कर छ
मेरो जिन्दगीसङ्ग ठक्कर छ ।।

उस्तै छु तर बारम्बार सोध्छौ
बुझ्नै सक्दिन के चक्कर छ ?।।

ऋणको भारले च्यापेपछि गाउँमा
उसको परदेश उड्ने तर्खर छ।।

बाच्दा सम्म कसैले चिनेन उसलाई
मरेपछि भने उसको नाम अमर छ ।।

भाइरलको भुत

यता प्यार उता ब्यापार छ
किन्दा सय बेच्दा हजार छ।।

बोल्नु,सुत्नु पनि किस्तामा भयो
फुर्सद छैन सबैलाई हतार छ ।।

गन्तव्य एउटै भए पनि हाम्रो
को पुग्ने पहिले मारामार छ ।।

कस्तो भाइरलको भुत छ अहिले
एउटै कहानी चारैतिर साभार छ ।।