पार्टीको मत चार हजार मात्रै भएका खतिवडाको ६४ हजार मत ल्याउने दाबी - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

पार्टीको मत चार हजार मात्रै भएका खतिवडाको ६४ हजार मत ल्याउने दाबी



स्थानीय निर्वाचनमा ४ हजार मत आएको मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट गठबन्धनका विरोध खतिवडाले ६४ हजार मत ल्याएर निर्वाचन जित्ने भाषण ठोकेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका खतिवडाले मनहरी गाउँपालिकामा शनिबार भएको निर्वाचित केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको उम्मेदवारभन्दा दोब्बर बढी मत ल्याएर चुनाव जित्ने बताएका हुन् ।

गत स्थानीय चुनावमा खतिवडाको पार्टी नेकपा एकीकृत समाजवादीले ल्याएको आफ्नो मत ४ हजार भएको उनी आफैंले बताएका छन्। गत स्थानीय तहको निर्वाचनमा उनको पार्टी नेकपा एकीकृत समाजवादीले २ नम्बर क्षेत्रभित्र ४ हजार मत ल्याएको हिसाब उनले नै कार्यक्रममा राखेका थिए ।

उनकै तथ्यांकलाई आधार मान्दा २ नम्बर क्षेत्रमा एकीकृत समाजवादीको ४ हजार मत रहेको छ । तर, खतिवडाले आफूले ६४ हजार मत ल्याएर निर्वाचन जित्ने ठोकुरा गरे ।

खतिवडाले गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको ५६ हजार मतले आफ्नो जित निश्चित भएको बताए । खतिवडाले एमालेको मत धेरै आए ३५ हजार नत्र ३० हजार मात्रै आउने बताए ।

‘मेरो ६४ हजार मत आउँछ । दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा गरेर ३२–३२ हजार मत आउँछ । एमालेको उल्का आए ३५ नत्र ३० हजार आउँछ,’ खतिवडाले भने ।

खतिवडाले प्रस्तुत गरेको हिसाब स्थानीय तहमा गठबन्धनका र एमालेका वडा अध्यक्षका उम्मेदवारहरूले पाएको मत भएको बताए । ‘यो हिसाब स्थानीय तहमा वडा अध्यक्षहरूले पाएको मत हो । निर्वाचन आयोगले प्रकाशित गरेको मत हो,’ उनले भने ।

कांग्रेसका ३४ हजार, माओवादीको २२ हजार र नेकपा समाजवादीले पाएको ४ हजार र व्यक्तिगत रुपमा आफूलाई आउने मतले ६४ हजार मत पुगेको उनको हिसाब छ । २ नम्बर क्षेत्रमा एमालेले ३६ हजार पाएको उनले बताए । जसमध्ये ६ हजार मत एमालेको घट्ने र ४ हजार आफूलाई थपिने तथा २ हजार मत अन्तै पुग्ने उनको हिसाब छ ।

‘स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले पाएको भोट ५६ हजार हुन्छ । हामीले पाएको ४ हजारले ६० हजार भयो । बाँकी ४ हजार त विरोध खतिवडा उठ्ने बित्तिक्कै आउँछ,’ उनी भन्छन्, ‘स्थानीय तहको चुनावमा विरोध खतिवडा उठेको थियो ? थिएन्, अब विरोध खतिवडा उठेपछि ४ हजार मत त थपिनु पर्‍यो नि । एमालेको ३६ हजारबाट ३० हजारमा आएपुग्छ, ६ हजार मतबाट मलाई ४ हजार थपिन्छ । नत्र विरोध खतिवडा उठेको के मतलब भयो ।’

आफूले झुटो हिसाब नदिएको खतिवडाको दाबी छ । उनले आफ्नो प्रतिद्वन्द्वीका रुपमा घण्टी, सिट्टी मुरलीहरू बजेको सुनिए पनि अहिले बज्न छोडेको भन्दै बताएका थिए ।