खानेपानीलाई हावाको पैसा तिर्नुपर्छ काठमाडौंमा - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

खानेपानीलाई हावाको पैसा तिर्नुपर्छ काठमाडौंमा



काठमाडौं- धारामा पानी नआए पनि काठमाडौं उपत्यकाबासीले महसुल तिर्नुपर्छ। ‘सातामा एकचोटि पानी आउँछ तर त्यो पनि ठेगान हुँदैन,’ काठमाडौं–२१ भोटेबहालका सानोभाइ डंगोलले भने,‘मेलम्ची आउँछ कि भन्ने आसमा पैसा तिर्न आएको।’ उनले पानी नआए पनि आफूले नियमित महसुल तिररहेको बताए।

‘मेलम्चीको कुरा सुन्दासुन्दै बूढो हुने भएँ। एक दिन त कसो नआउला,’ उनले भने, ‘मेरा पालामा नआए पनि छोराछोरीको समयमा आउला नि। उनीहरुका लागि भए पनि तिरिदिनुपर्‍यो।’

कलंकी मन्दिरका लभप्रसाद दाहालले महिनाको १० हजारको पानी किनेर खानुपर्ने बाध्यता सुनाए। उनले ट्यांकरको पानी किनेर खाइरहेका छन्। ‘महिनाको तीनपटकसम्म ट्यांकरको पानी किन्छु।

एक ट्यांकरको २ हजार पाँच सय तिर्छु’, उनले भने, ‘धारामा पानी नआए पनि महिनाको ५७० रुपैयाँ महसुल तिरिरहेको छु। पिउन त जारको पानी किन्नैपर्‍यो। एक जारले तीन दिन पनि पुग्दैन।’

थापाथली शाखाका भेटिएकी काठमाडौं–१४ कंलकी घर भएकी भवानी दाहालको समस्या अर्कै पाइयो। उनी विदेश गएका बेला घरमा दुईपटक पानीको मिटर चोरिएको बताइन्।

केयूकेएलका कर्मचारीले मिटर राख्न तारन्तार थर्काउने गरेको दाहालले गुनासो सुनाइन्। ‘मिटर हाल्ने भए हाल्नुहोस् नत्र ९ हजार जरिबाना लाग्छ भन्दै थर्काउँछन्,’ उनले भनिन्, ‘चोरेर खाँदैनौँ नि, बाहिर गएको बेला चोरियो त के गर्ने ?’

बाढीका कारण कंलकीमा १५ दिनदेखि खानेपानी आपूर्ति ठप्प छ। ‘१५ दिन जति भयो, धारामा पानी आएको छैन,’ उनले भनिन्, ‘पाइप नै बाढीले बगाएर लगेको छ। त्यो बनाउन भन्दा कर्मचारी त मलाई थर्काउँछन्।’

काठमाडौं १२ बह्मटोलका रत्नबहादुर श्रेष्ठले महिनाको ४÷५ पटक मात्रै पानी आउने गरेको बताए। ‘पानी नआए पनि पैसा लिइहाल्छन्, नतिरे जरिबाना तिर्नुपर्छ,’ उनले भने।

उनले एक हजार ७ सय रुपैयाँ महसुल बुझाए। छिमेकीले ठूलाठूला मोटर राखेर तानिदिएका कारण आफ्नो घरमा पानी नआएको उनको भनाइ छ। ‘मेरा घर लास्टमा छ, अरूले मोटरले तान्छन्, मेरोमा पानी आइपुग्दैन। बिल तिर्न भने म महिनावारी आइरहन्छु,’ उनले भने।