"खाद्य सुरक्षाका लागि सबै जिम्मेवार बन्नुपर्छ" - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

“खाद्य सुरक्षाका लागि सबै जिम्मेवार बन्नुपर्छ”



विशाल पाण्डेय / टिकापुर ,कैलाली
खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी रिपोर्टिङ बारे पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको आयोजनामा मंगलबार कैलालीको टीकापुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहजीकरण गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख सुमन धितालले पत्रकारहरुले खाद्य गुणस्तरका सवालमा रिपोटिङ्ग गर्दा ध्यान दिन आवश्यक हुने सुक्ष्म पक्ष, खाद्य अधिकारका कानुनी दायरा तथा समुदायको वर्तमान अवस्थाका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा धितालले खाद्य सुरक्षाका लागि उत्पादक, संकलक, प्रशोधन कर्ता, खाद्य व्यवसायी र उपभोक्ता जिम्मेवार भएर लाग्नुपर्ने जोड दिए । उनले भने, ” जैविक, रासायनिक, भौतिक जोखिमका कारण खाद्य स्वच्छता बिग्रन सक्ने हुँदा खाद्य सुरक्षाका लागि सबै जिम्मेवार बन्नुपर्छ ।”

कार्यक्रममा टीकापुर नगरपालिकाका पशु सेवा शाखाका प्रमुख श्यामराज पाण्डेले यस क्षेत्रमा दूध डेरी उद्योग र खुलारुपमा मासु पसल संचालन भएपनि सुधार गर्न नसकिएको स्वीकार गरे । उनले उपभोक्ता र व्यापारीलाई सचेत गराउन समय समयमा अनुगमन गर्न आवश्यक रहेको बताए ।

उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष एकिन्द्र तिमिल्सिनाले अनुगमनले उपभोक्ताको हितका लागि काम गर्ने हुँदा बजारमा अनुगमनमा तीव्रता दिनुपर्ने बताए । उनले टीकापुर नगरपालिकामा बजार ब्यवस्थापन ऐनको मस्यौदा तयार भइसकेकोले ऐन आएमा अझ सजिलो हुने बताए । उनले भने , “स्थानीय तहमा उप प्रमुखको संयोजकत्वमा अनुगमन समिती बनाइएको छ , उपभोक्ताको हितको लागि ऐनले दिएको अधिकार अनुसार अनुगमन गर्दा स्थानीय तहलाई कुनै अप्ठेरो हुँदैन ।”

कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत दिपक कुंवरले खाद्य सुरक्षाका लागि भएका कानुनी व्यवस्थाबारे जानकारी दिदै कार्यालयको वार्षिक कार्यक्रम तथा प्रथम चौमासिक लक्ष्य र प्रगती विवरण समेत प्रस्तुत गरेका थिए । कार्यक्रम घोडाघोडी नगरपालिका , लम्की चुहा ,भजनी ,टिकापुर र बर्दगोरिया गाउपालिका गरि ५ वटा स्थानीय तहका पत्रकारहरुको सहभागीता रहेको थियो ।