खाडी मुलुक लैजान लागेका १२ नेपाली महिलाको दिल्लीबाट उद्दार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

खाडी मुलुक लैजान लागेका १२ नेपाली महिलाको दिल्लीबाट उद्दार



ईन्द्र कमल जैरु /नयाँ दिल्ली 

मानव तस्करीको हब बनेको भारतको राजधानी दिल्लीमा फेरि एक पटक खाडी मुलुक पुर्‍याइन लागेका नेपाली महिलाहरूको उद्धार गरिएको छ ।

दिल्लीको ग्रामीण छावला पुलिस थाना अन्तरगत कुतुब विहार र श्याम विहार क्षेत्रमा छापा मर्दा १२  जना नेपाली महिलाहरूलाई सकुशल निकालिएको हो । दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा दिल्ली महिला आयोग, दिल्ली पुलिस, र किन नेपाल नामक संस्थाको पहलमा उनीहरूलाई निकालिएको हो । जानकारीका अनुसार उनीहरूलाई कुवेत, इराक र दुबई पुर्‍याउनका लागि पछिल्लो २  महिनादेखि दिल्लीको छावला थाना अन्तरगतका घरमा राखिएको थियो ।

एक पीडित महिलाले दिएको सूचनाको आधारमा कारबाही गर्दै दिल्ली महिला आयोग र दिल्ली पुलिसको विशेष सक्रियतामा उनीहरूको उद्धार गरिएको जनाइएको छ । शनिवार राति ७  बजेबाट ९  बजेसम्म कुतुब विहार र श्याम विहारमा छापामारी गरिएको थियो। कुतुब विहारको घरबाट 8 जना र श्याम विहारबाट ४ जनालाई उद्धार गरिएको हो भने श्याम विहारका २ घरमा छापामारी गरिए पनि त्यहाँको एक अर्को घरबाट सफलता हात नलागेको जनाइएको छ ।

उद्धार गरिएका महिलाहरू २२  देखि ४२  वर्ष उमेरका रहेका छन् । उनीहरू मध्ये ३  जना धादिङ, २  जना झापा, २  जना मकवानपुर, २  जना दाङ, प्युठान, रसुवा र धनगढीका १-१  जना रहेका छन्। उनीहरूलाई नेपाल-भारतका छुट्टा-छुट्टै सीमा नाकाबाट दिल्ली पुर्‍याइएको हो ।

घटनाबारे जानकारी दिँदै नेपाली राजदूतावासका प्रवक्ता हरि ओडारीले महिलाहरूलाई दिल्ली महिला आयोगको संरक्षणमा महिला आश्रममा राखिएको र घर फर्काउनका लागि आवश्यक कानुनी प्रक्रिया चलिरहेको बताए। पुलिसले पीडित महिलाहरूले दिएको बयानका आधारमा दलाल उदय राना विरुद्ध मुद्दा दर्ता गरेको छ । गैर कानुनी बाटोबाट नेपाली महिलाहरूलाई तेरुाो मुलुक पुर्‍याउन किर्ते कागजपत्र तयार पार्ने समयसम्मका लागि दलालहरूले बन्द कोठामा राख्ने गर्दछन् ।

पछिल्लो समय दिल्लीका व्यस्त क्षेत्रमा महिलाहरूको बेचबिखनका घटनामा एकपछि अर्को गर्दै कारबाही हुन थालेपछि दलालहरूले ग्रामीण क्षेत्रमा आफ्नो सक्रियता बढाई रहेको किन नेपालका प्रतिनिधि नवीन जोशीले बताए।

फाईल तस्विर