ओमिक्रोन तिब्र फैलीएपछि केजरीवालले बोलाए आपतकालीन बैठक - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

ओमिक्रोन तिब्र फैलीएपछि केजरीवालले बोलाए आपतकालीन बैठक



काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तिब्र फैलिएपछि आपतकालीन बैठक बोलाइएको छ । भारतमा ओमिक्रोनको खतरा लगातार बढिरहेको देखिएको छ ।

मंगलबारसम्म ओमिक्रोनबाट ६५३ जना संक्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ हजार ३५८ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।

हालसम्म ओमिक्रोन भेरियन्टबाट ६५३ जना संक्रमित भएको मन्त्रालयको भनाइ छ । ओमिक्रोनका संक्रमितमध्ये १८६ जना निको भएको वा अन्यत्र गएको पनि मन्त्रालयले बताएको छ । हालसम्म भारतका २१ राज्यमा ओमिक्रोन भेरियन्ट फैलिएको छ ।

ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन् । महाराष्ट्रमा मंगलबारसम्म १६७ जना र दिल्लीमा १६५ जनामा यो भेरियन्ट पुष्टि भएको छ । ओमिक्रोनका संक्रमित निरन्तर बढ्न थालेपछि दिल्लीमा थप प्रतिबन्ध लगाइने तयारी गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज आपतकालीन उच्चस्तरीय बैठक बोलाएका छन् । १२ बजे बस्ने उक्त बैठकमा ओमिक्रोनबाट उत्पन्न पछिल्लो जोखिमबारे समीक्षा हुने बताइएको छ भने बैठकमा भएको छलफल अनुसार थप प्रतिवन्ध लाग्न सक्ने संचारमाध्यमले जनाएका छन् ।

आकस्मिक बैठकमा कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न भन्दै ल्याइएको ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’बारे समेत छलफल हुने बताइएको छ । सोही योजनाअनुसार ‘यलो अलर्ट’ लागू गरी थप प्रतिबन्ध लगाउन सकिने संभावना रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।