२०७५ साउन ३०, बुधबार

के हामी एमाले बन्न रगत बगायौ ?

October 14, 2017
102 Views
Spread the love
  • 1
    Share
  • अन्जना केसी 

ह्वीलचेयरको लामो लाइन थियो। लठ्ठीको सहाराले उभिने पनि कम थिएनन्। कतिपय पोलिएका अनुहार थिए, कुनै बाङ्गिएका, कसैको हात थिएनन्, कसैको खुट्टा। लाग्छ म कुनै छुट्टै दुनियाँमा छु। मलाई त्यहाँ कसैको अनुहार हेरेर पनि मुस्कुराउनु मन छैन। सबैको अनुहार हेरे हामीलाई हेरेर मुस्कुराएका देखिन्थे। अस्वादिलो हाँसो हाँसिरहेका थिए।

म सँग व्यूटिसियन कोर्ष गरिरहेका दिदीबहिनीलाई प्राक्टिस हुने र सेवा पनि हुन सक्ने उद्धेश्य लिएर गौशालास्थित शान्ति सेवा संस्थामा म लगायत १२ जना विद्यार्थी त्यहाँ पुगेका थियौँ। हाम्रो काम त्यहाँका अपांग महिला/पुरुषको सरससफाई, कपाल काटिदिने, साथै थ्रेडिङ गर्न चाहने महिलाको लागि गरिदिने थियो।

सञ्चालकको अनुमति लिएर हामी त्यहाँ गएका थियौँ। आवश्यक सामग्री लिएर काम गर्न सुरु गर्दै थियौँ। ५ वटा कुर्सी राखिएको थियो। काम गराउन चाहनेलाई लाइनमा राखिएको थियो। एउटा महिला, अर्कों पुरुषको। त्यहाँ अपांगको सङ्ख्या कति थियो मैले यकिन गर्न सकिनँ। तर, कपाल कटाउन वा अन्य कामको लागि लाइन लाग्नेहरुको सङ्ख्या १ सय ५० भन्दा माथि थियो। सबैको हातमा मोबाइल थियो। कसैले एयरफोन कानमा कोचेका थिए, कसैले बाहिरै सेन्टीमेन्टल गीत घन्काएर सुनेका थिए। हामी सबै महिला थियौँ। हाम्रा कामलाई पुरुषहरुले अझै गहिरोसँग नियाल्दै थिए।

हामीलाई नियाल्नेको भीडमा मैले आँखा डुलाएँ। अलि परको दूरीमा एउटा परिचित लाग्ने अनुहारले हामी भएतिर एकटकले हेरिरहेको थियो। मैले हेरे मलाई ठम्माउन गाह्रो परेन मैले उसलाई चिनेँ। कसरी भुल्न सक्थे र। जो सँग कैयौंपटक सँगै उकाली-ओराली गरेकी छु। सँगै गुन्द्रुक र ढिडो खाएकी छु, पटक–पटक उसले पढ्ने स्कुलमा गएर यो अव्यावहारीक शिक्षा पढेर समय खेर नफाल भनेकी छु।

व्यूटिसियनहरुसँग काम गराउन भीड तछाड–मछाड गर्दै अगाडि बढिरहेको थियो। हामीहरुलाई कामको भ्याइँ–नभ्याइँ थियो। मलाई छुट्टै कौतुहलताले सताइरहेको छ। आखिर ऊ यहाँ किन छ ? सुनेकी थिए ऊ युद्वको सिपाही हो, ऊ त ठुलो मान्छे भएको छ रे कमान्डर भयो रे, थुप्रै मोर्चा लडेर जितेको छ रे। ऊ सँग यो अवस्थामा भेट होला भनेर मैले कल्पनासम्म गरेकी थिइनँ।

के उसले मलाई चिनेरै हेरे होला त? १२ वर्षअघि म अर्कै थिएँ। म उसले चिनेको बेलाभन्दा अहिले फरक छु, थ्रेडिङ गर्छु, मेकअप गरेकी छु, कपाल रंगाएकी छु। पहिले भन्दा १० केजी मोटाएकी पनि छु। उसले मलाई भेट्दा अनुहार, अनुभूति र प्रतिक्रिया कस्तो होला। उसले आफूलाई कसरी प्रस्तुत गर्ला। त्यसको कल्पनाले म आफूमा एक किसिमको कौतुहलता रोमाञ्चभाव अनुभव गरिरहेकी थिएँ, साँच्चै भन्दा एउटा सुखद् कल्पना ममा तरंगित भइरहेको थियो, एउटा आतुरता थियो ममा।

ऊ पनि मलाई देखेर निकै खुसी भएको हुनुपर्छ, इतिहासले हामी दुईलाई फरक स्थानमा ल्याएर भेट गराइदिएको थियो। विगत सम्झिए, कति दुखित् भएर छातीमा पीडा बोकेर मबाट छुट्टिएको थियो, आफ्नो कार्य क्षेत्रमा। पहिले विद्यार्थी थियो, सँगै काम गथ्र्यो। क्रान्तिको आवश्यकता भन्दै पार्टीले सेनामा पठाएको थियो। यतिखेर ऊ मेरो सामुन्ने छ, साँचो हो ऊ अर्कै अवस्थामा छ, मैले कल्पना गरेको भन्दा फरक अवस्थामा, मौन छ ऊ, मात्र आँखाले टुलुटुलु मतिर हेरेको छ। आँखाहरू म भएतिर केन्द्रित छन्, एकैतिर गम्भीर मुद्राको अभिव्यक्ति प्रस्तुत गरेझै। जिज्ञाशू भएर मलाई तलदेखि माथिसम्म हेरिरहेको छ।

म आफू पनि आफ्नो काममा भन्दा उसलाई बढी ध्यान दिएकी छु। आफ्नो पालो कुरिरहेको उसलाई सबैभन्दा अगाडि ल्याएर कपाल सुम्सुमाउँदै कपाल काटिदिने मन छ, झुस्स परेका दारी खौरिदिने मन छ, तर म सक्दिनँ त्यसो गर्न। ऊ भन्दा अगाडि थुप्रैले आफ्नो पालो कुरेका छन्। राम्रो हुन चाहनेहरुको भीड तछाड–मछाड गर्दै अगाडि बढिरहेको छ। ब्यूटिसियनहरु आफ्नै रफ्तारमा काम गरेका छन्। पुरुषको दारी कपाल काट्दै महिलाको थ्रेडिङ र कपाल काट्दै अब लाइन ऊसम्म आइपुगेको छ, अब म उसलाई नजिकबाट हेर्न पाउने भए, छुन पाउने भए, मैले सोचेकी पनि थिइनँ ऊ पनि अपांग हो, उसका दुवै खुट्टा थिएनन्, उसलाई देखेर जिउ सिरिङ्ग भयो, मान्छे त्यसरी पनि बाच्दोरहेछ। सुरुमा अनुहार मात्र देखेकी मैले उसको यो अवस्था कल्पनासम्म गरेकी थिइन्।

हातमा मोबाइल समातेको उसले मलाई मुस्कुराउँदै हेरेको थियो। तर मलाई हास्न मन थिएन। म के गरौँ, के नगरौं भयो, अँगालो मारौ अनि धित मरुन्जेल रोऊँ, आक्रोशले चिच्याऊ, या ऊसित हात मिलाऊँ। उसका आँखा मैतिर छन्। एकोहोरो किसिमले आँखा रसिला पारेर मैतिर हेरिरहेको छ। उसको ह्वीलचियर समात्दै कुरा अगाडि बढाउने बहानाले सोधे।
सञ्चै छौ ?

देखि हाल्नु भो त के छु भन्ने कुरा।

उसले तितो जवाफ दियो, मलाई दाँतमा ढुङ्गा लागेकोजस्तो सिरिङ्ग भयो।

तिमी यहाँ कसरी? मैले कपालमा कैंची चलाउँदै सोधे।नजिकै रहेकी विद्यार्थी बहिनीले सोधिन्, चिन्नुहुन्छ दिदी उहाँलाई ? अँ भन्ने भावमा मुन्टो हल्लाउँदै उनलाई अरूको काम गर्न आग्रह गरे।उसलाई थप प्रश्नको वर्षा गराउन मन लाग्यो। सुनेनौ मैले के भने तिमी यहाँ कसरी?

२०५९ भदौ २४ गते अर्घाखाँचीको सदरमुकाम कब्जा गर्दा दुस्मनले फालेको गिर्नेट बमले मेरो दुवै खुट्टा गुम्यो, दिल्लीमा महिनौसम्म उपचार गराएँ। खुट्टाहरु छिया–छिया भएका थिए, कुनै औषधिले छोएन, झनपछि झन् कुहिँदै गयो, कम्मर भन्दा तलको भाग चल्दैनथ्यो। बाँच्ने ठुलो इच्छा थियो डाक्टरले काटेर फालेपछि बाँच्न सकिन्छ भनेर थाइदेखि नै काटेर फालियो। म उपचारपछि नेपाल फर्किदा युद्वबिराम भएर वार्ता चलिरहेको थियो। म पार्टी सम्पर्कमा आए, जहाँ म कार्यरत थिएँ। मलाई घरमा जान एकदम मन थियो। बाआमा र बहिनीसँग भेट्न। गाउँमा घर भएको र दुईटै खुट्टा नभएकोले जान सम्भव छैन भने साथीहरू। बरु बाआमा र बहिनीलाई यही बोलाइदिन्छौ भने। म परिवारसँग भेट हुने पाउने आशाले यही बसेँ।

केही दिनपछि एक जना जिम्मेवार कमरेड मलाई भेट्न आउनुभएको छ भनेर मलाई ह्वीचियरमा राखेर उहाँ भएको कोठामा लगियो। उहाँले मलाई युद्वको नियम सम्झाउँदै केही पाउन केही गुमाउनुपर्छ, धैर्य गर्न आग्रह गर्दै भन्नुभयो ‘अर्घाखाँचीको कारबाहीपछि सेनाले गाउँ–गाउँ अप्रेशन गर्‍यो त्यही बेला तपाईँको घरमा पनि गएर तपाईँको बुवा र बहिनीलाई लिएर हिँड्यो। बुवाको खबर अहिलेसम्म केही थाहा छैन। बहिनीलाई सेनाले बलात्कारपछि हत्या गरेर गाउँको जङ्गलमा फालेको रहेछ। ३ दिनपछि शव भेटिएको थियो। आमा ठिकै हुनुहुन्छ पार्टीको सम्पर्कमा।

त्यसपछि उनले के बोले मलाई थाह छैन। अब झन् मेरो वरिपरिको परिवेश एक छिन मबाट हरायो। मेरा आँखा चिम्म भए, कान पनि बन्द भए। त्यति बेला कुन हालत भयो त्यो मैले तपाईँलाई अभिव्यक्त गर्न पनि सक्दिनँ।

उसका आँखाभरि आँसु थिए, मैले कपाल काट्न छोडेकी थिएँ, हातखुट्टा लल्याक लुलुक भएका थिए, म थप प्रश्न गर्न सक्ने हालमा थिइनँ, मुस्किलले आशु थामेकी थिएँ, म निशब्द थिए। वातावरणले सन्नाटा छाएको थियो। सन्नाटा चिर्दै उसले फेरि बोल्यो। आजकल त लाग्छ यो हालमा बाच्नुभन्दा मरेको भए हाइसुख्खा हुन्थ्यो। कमसेकम यो लाचार जिन्दगी जिउनु त पर्दैनथ्यो। उसले लामो सास फेर्दै बोल्यो। आमा नि ? मैले सोधे।

६२/६३ को जनआन्दोलनपछि त्यो बेलाका सहिद र घाइतेलाई सरकारले केही रकम दिएको थियो। रकम झिकिदिए बापत कमिसन दिँदा दिँदै आधा रकम आएको थियो, त्यति पैसाले के गर्नू? आमा मानसिक रोगको सिकार हुनुहुन्छ। उहाँलाई उपचार गर्न पनि पुगेन। मलाई ऋण कसले पत्याउने? यस्तो अपायज जिन्दगी जिएकोलाई। पार्टीले पनि साथ छोड्यो। मानसिक रोगी मेरी आमा जो सधैँ आर्मी आयो भाग मात्र भन्दै चिच्याइरहनुहुन्छ, भागीमात्र रहनुहुन्छ, त्यस्तो आमा अनि जिउँदो लास जस्तो मलाई कतिञ्जेल साथ दिन्थ्यो र ? न म अब पार्टीको लागि लड्न सक्छु न मर्न नै। म यति बेला मरेसरह छु।

आमालाई आश्रममा राखिएको छ। अनि मलाई यो संस्थामा लिएर एक जना समाजसेवी मान्छेले राखिदिनुभएको हो। उहाँसँग पाटनको मानसिक अस्पतालमा आमालाई उपचार गराउने क्रममा भेट भएको थियो। मलाई दुःख लाग्छ मेरो परिवारबाट हामी सबैले पार्टी, क्रान्ति, देश र जनताको लागि भनेर बलिदान गर्‍यौँ, आखिर के पायौं? मजस्ता अरू घाइतेले के पाए, पार्टीको लागि मर्नेहरुले के पाए? मेरो बाबा अहिलेसम्म बेपत्ता हुनुहुन्छ, बहिनीको हत्या, अनि मेरो यो अवस्था, मेरी आमा यो सबै पीडा सहन नसकेर पागल बन्नुपर्‍यो। हाम्रो बलिदानले के गर्‍यो ? मेरै परिवारमा सहिद, बेपत्ता र घाइते छौँ।

ती दिनहरू पछि कति सहिद दिवस आए गए, तर कुनै दिन मैले सुखद् अनुभूति गर्ने मौका पाइनँ। देशका लागि रगत बगाएँ भनेर गर्व गर्ने ठाउँ पाइन। अब त सुन्दैछु पार्टी एमाले सँग एकता गर्‍यो रे !एमालेले रगत नबगाएर पनि सत्तामा पुगेकै थियो । प्रचन्डले पार्टीलाई एमालेकरण गर्न किन मेरो परिवार लगाएतको रगतमा होली खेले ?म र मेरो परिवार नेपाली जनताका छोराछोरीहरु सबै देशका लागि नभएर प्रचन्डको लागि, नेताको लागि सहिद र घाइते भएको सम्झिँदा पश्चतापले मुटु भत्भती पोल्छ।के हामी एमाले हुन लडेका थियौ ? उसले आक्रोश पोख्यो।

ऊ बिनादिशाको बतासझै शब्दहरुमा निरन्तर बगिरहेको थियो। म अक्क न बक्क भएर सुनिरहेँ। दिदी काम सकियो त ? ध्यान भङ्ग गर्दै बहिनी मेरो नजिक आइन्। म उसलाई पछि भेट्न आउने बाचा गरे, उसले विश्वास गर्‍यो वा गरेन मुस्कुरायो कुबेलाको मुस्कान। कुठाउँमा आएको डण्डीफोर जस्तो देखियो। हेर्दा नमज्जा लाग्यो। मलाई उसँगको भेटले राजनीति युद्व क्रान्तिप्रति वितृष्णा जागेर आयो। मनमनै सोचे सरकार तिम्रै छ। तिम्रै पार्टीको हालीमुहाली छ। सहिद घाइतेका नाममा करोडौं बजेट छट्टिएका छन् तैपनि तिम्रै पीडा यति दर्दनाक छन्। आखिर किन ?

Facebook Comments
  • 1
    Share

You may be interested

नेपाली कामदार ठग्ने मलेसियन कम्पनीलाई कारवाही
प्रवास
0 shares15 views
प्रवास
0 shares15 views

नेपाली कामदार ठग्ने मलेसियन कम्पनीलाई कारवाही

himal post - २०७५, ३० श्रावण ०६:४०

काठमाडौं – मलेसियाको सरकारले नेपाली कामदारसँग स्वास्थ्य परीक्षणका नाममा चर्को शुल्क उठाएर ठगी गर्ने बेस्टिनेट एसडीएन बीएचडी नामक कम्पनीलाई निलम्बन…

बंगलादेशी ब्याट्सम्यान अशरफुललाई कडा झट्का
खेलकुद
0 shares21 views
खेलकुद
0 shares21 views

बंगलादेशी ब्याट्सम्यान अशरफुललाई कडा झट्का

himal post - २०७५, ३० श्रावण ०६:३७

म्याचफिक्सिङको ५ वर्षे प्रतिबन्धपछि राष्ट्रिय टिममा फर्कने तयारी गरेका बंगलादेशका ब्याट्सम्यान मोहम्मद अशरफुललाई कडा झड्का लागेको छ । क्रिकबजको रिपोर्ट…

निको भए रोनाल्डो
खेलकुद
0 shares32 views
खेलकुद
0 shares32 views

निको भए रोनाल्डो

himal post - २०७५, ३० श्रावण ०६:३३

ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डो निमोनियाको उपचारपछि अस्पतालबाट घर फर्किएका छन् । विश्वकप विजेता ब्राजिलका रोनाल्डोलाई निमोनियाको संक्रमण भएपछि स्पेनको आइल्याण्ड…