कस्तुरीको बीणासहित ठमेलबाट ३ जना पक्राउ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कस्तुरीको बीणासहित ठमेलबाट ३ जना पक्राउ



काठमाडौँ– प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बीणासहित ३ जनालाई ठमेलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्याङजाका ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभाका ३८ वर्षीय ईन्द्र कुमार राई र संखुवासभाकै २८ वर्षीय सन्देश अछामे रहेका छन् ।

उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले टोलीले ठमेलको भगवानबहालबाट पक्राउ गरेको हो । उनीहरूबाट करिब २१ ग्राम तौल भएको कस्तुरीको बीणा १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

सो ठाउँमा कस्तुरीको बीणा अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको ब्यूरोका एसपी सुदीप गिरीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।