सिट बाँडफाँट कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौँ- सिट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको कार्यदलले शिर्ष तहमा प्रतिवेदन बुझाएको छ ।
बिहीबार भएको लामो छलफलपछि दलहरूको आ–आफ्नो दाबीसहितको सिट बाँडफाँटको प्रतिवेदन बुझाएको हो ।
शिर्ष तहसँगको समन्वयमा दिनभर कार्यदलले सिट बाँडफाँटको मोडालिटीमा छलफल गरी प्रतिवेदन तयार गरेर बुझाइएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रतिवेदनमाथि शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट भागबण्डाबारे टुंगो लगाउने उनले बताए ।
उनले जसपा सिट बाँडफाँटमा असन्तुष्ट रहेको र गठबन्धन छाड्ने भन्ने विषयमा सत्यता नभएको जिकिर गरे । उनले सबै दललाई जितेको अनुभव हुने गरी शिर्ष तहले सिट बाँडफाँटलाई अन्तिम रूप दिने बताए ।
कार्कीले शिर्ष तहको बैठक शुक्रबार बस्ने जानकारी दिए ।