बस्तीमा पस्यो कर्णाली नदी, ४७ घर डुबान - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

बस्तीमा पस्यो कर्णाली नदी, ४७ घर डुबान



गुलरिया- दुई दिनदेखि परेको अविरल बर्षाका कारण कर्णाली नदीले खतराको तह पार गर्दा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढी पसेको छ। बाढीका कारण ४७ घर डुवानमा परेका छन्।

राजापुरको भदाली नालाबाट पसेको पानीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुवानमा परेको छ। गेरुवाको बनकट्टीबाट पसेको पानीले सनकट्टी, रानीपुर क्षेत्र डुवानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए। नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले स्थानियको उद्धार गरेका छन्।

प्रजिअ सुनारका अनुसार चनौरामा ४७ घर डुवानमा परेको र ३७ घरमा पानी पसी पूर्ण क्षति भइसकेको छ। सुरक्षित स्थानमा सारिएका पिडितहरुलाई स्थानीय तहले त्रिपालहरु वितरण गरेको छ। बाढीबाट मानविय लगायत धनजनको क्षती न्युनिकरण गर्न मोटरवोटसहित तिनै तहका सुरक्षा निकाय परिचालन गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ।

कर्णाली नदीको पानीले खतराको तहपारगर्दै १२ दशमलव ५ मिटर पुगेको छ। नदीमा पानी नघटेपछि आवस्यक थप उद्धारका लागि विपद व्यवस्थापन समिति बर्दियाले हेलिकोप्टरको तयारी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए। गाउँमा कर्णाली नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ जान सूचना जारी गरिएको उनले बताए।