एकतापछि कर्मचारी र ठेकेदारले हेप्न छाडे: प्रचण्ड - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

एकतापछि कर्मचारी र ठेकेदारले हेप्न छाडे: प्रचण्ड



नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नेतृत्वको सरकारलाई लापर्वाही गर्ने र अराजक हुने छुट नभएको बताएका छन् ।

शनिबार आफ्नो जन्मस्थान समेत रहेको कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित स्वागत कार्यक्रमलार्इ सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अवको दश वर्षलाई विकास र समृद्धिको वर्ष बनाउने बताए ।

‘३० को दशकमा नेपालका कम्युनिस्टहरु सिद्धान्त बनाउनमै विताए भने त्यसपछिका वर्षहरु संघर्षमा’, उनले भने, ‘पछिल्लो १० वर्ष संविधान निर्माण र कार्यान्यनमै बित्यो, अबको १० वर्ष विकास र समृद्धिमा लाग्नुपर्छ ।’

अहिलेको सरकारलाई अगाडिका सरकारजस्तो थोरै काम गर्ने छुट नभएको भन्दै उनले आर्थिक विकास र समृद्धिलाई तीव्र गतिमा अगाडि बढाउने बताए ।

झण्डै दुईतिहाइको नेकपाको मत र संघीय समाजवादी फोरम मिल्दा दुई तिहाइ पुगेको भन्दै उनले सरकारलाई काम गर्न अव कुनै नीतिगत समस्याले नरोक्ने बताए ।

सरकार दह्रो नबन्दा हिजो कर्मचारी र ठेकेदारले समेत नटेरेको भन्दै उनले एमाले र माओवादीको एकतापछि उनीहरु पनि ठाउँमा आएको बताए । सरकारले समयमा काम नसक्ने ठेकेदारहरुलाई कारबाही गर्ने भनेपछि धमाधम काम सुरु भएको उनको दावी थियो ।

तत्कालीन एमाले र माओवादी केन्द्रको एकतालाई नेपालमा मात्रै नभएर विश्वभरी नै आशावादी रुपमा हेरिएको र एकताले विश्वभरमा नयाँ सन्देश दिएको उनको भनाइ थियो ।

‘हाम्रो एकताले विश्वभरका श्रमजीवी जनतामा नयाँ उत्साह थपेको छ, जागरण ल्याएको छ’, उनले भने, ‘यो सरकारले राम्रो काम गरिदिए हुन्थ्यो भनेर उनीहरुले अपेक्षा गरिरहेका छन् ।’

विश्वका श्रमजीवीको अपेक्षासँगै आफूहरुमा थप जिम्मेवारी थपिएको उनको भनाइ थियो।