कर्मचारी सरुवामा राजनीतिक हस्तक्षेप भयो- मन्त्री अमनलाल मोदी - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

कर्मचारी सरुवामा राजनीतिक हस्तक्षेप भयो- मन्त्री अमनलाल मोदी



काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीहरू सुगम क्षेत्रमात्र रोज्ने गरेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बुधबार बोल्दै मन्त्री मोदीले कर्मचारीहरू खटाएको ठाउँमा नगएर सुगम क्षेत्रमा रोज्ने गरेको बताएका हुन्। खटाएको ठाउँमा नजाने र गए पनि स्थानीय तहले हाजिर नगराउने प्रवृत्ति रहेको उनको भनाइ छ।

मन्त्री मोदीले मन्त्री, पूर्वमन्त्री, सांसद, उच्च तहका कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिले आफू अनुकूलका कर्मचारी रोज्ने गरेकाले सरूवा प्रभावित हुने गरेको बताए।

‘विभिन्न पार्टीबाट जितेका सांसद, मेयर र अध्यक्षहरूले कर्मचारी रोज्ने गरेका छन्,’ उनले भने,‘रोजेका दुई हजार पठाउने हो भने संघका ५३ हजारमध्ये बाँकी ५१ हजार कर्मचारी कहाँ लैजाने?’

मोदीले संघीय निजामती ऐनको मस्यौदा अर्थ र कानुन मन्त्रालयमा पुगेको जानकारी दिए। ६ वर्षदेखि अड्किएको ऐन निर्माण अहिले रोकिँदा थप समस्या हुने उनको भनाइ थियो।

आफैले स्थानीय तहमा निमित्त नराख्ने नीति लिए पनि कार्यान्वयनमा जटिलता देखिएको उनले बताए। मन्त्रालय सम्हाल्दा २४१ तहमा निमित्त रहेको जानकारी दिँदै मोदीले अहिले ६० स्थानमा नयाँ पठाएको बताए।

समायोजन भएका र स्थानीय तहमा रहेको तहगत कर्मचारीले निमित्त बनेर सञ्चालन गरिरहेको उनले जानकारी थिए। मन्त्री मोदीले कर्मचारी सरूवामा पार्टीगत समस्या रहेको जिकिर गरे।

सरूवा भएर गएका कर्मचारीलाई स्थानीय तहले हाजिर नगराउँदा फर्किएर आउनु परेको उनले बताए।

‘स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाका कर्मचारी संघबाट पठाउनुपर्छ। संघीय मामिला मन्त्रालयले पठाएको कर्मचारीलाई स्थानीय तहले हाजिर गराउँदैन। पछिल्लो समय सरूवा गरेर स्थानीय तहमा पठाएका ४८ मध्ये १२ जना प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराइ फर्काइएको छ,’ उनले भने।