राजनीति गर्ने शिक्षक र कर्मचारीलाई तत्काल कारबाही गर्न अदालतको आदेश - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

राजनीति गर्ने शिक्षक र कर्मचारीलाई तत्काल कारबाही गर्न अदालतको आदेश



काठमाडौं– उच्च अदालत पाटनले सार्वजनिक पदमा बहाल रहेका व्यक्ति (शिक्षक तथा सरकारी कर्मचारी) राजनीतिक दलमा आवद्ध भएको पाइए कारबाही गर्न आदेश जारी गरेको छ।

न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र नीलम पौडेलको आइतबारको संयुक्त इजलासले राजनीतिक दलमा आवद्ध हुने शिक्षक र कर्मचारीलाई कानुनअनुसार कारबाही गर्न आदेश जारी गरेको हो।

सार्वजनिक पदमा रहेका पदाधिकारी (शिक्षक, कर्मचारी) लगायतहरु राजनीतिक गतिविधिमा संलग्न रहेको हुँदा सोलाई रोकी पाउन भन्दै अजित भण्डारीले दायर गरेको रिटमा उच्च अदालतले यस्तो आदेश जारी गरेको हो।

राजनीतिक दलसम्बन्धी ऐन २०७३, निजामति सेवा ऐन, शिक्षा ऐन लगायत सरकारी सेवामा संलग्न हुने कर्मचारीसम्बन्धी विभिन्न ऐन तथा राजनीतिक दलहरुले पारित गरेका विधानहरुमा पनि सार्वजनिक पदमा बहाल रहेकाहरुले राजनीतिमा भाग लिन नपाउने प्रावधान रहेको आदेशमा उल्लेख छ।

‘…कानुनमा भएका व्यवस्थाहरू कार्यान्वयनमा आउनु पर्ने, कानुनको परिपालना सबैले गर्नुपर्ने, कानुन विपरीतको कार्य कसैले गरेमा, सो गर्न लागेमा सोलाई नियामक निकायले कानुन बमोजिम गर्न लगाउनुपर्ने छ,’ आदेशमा भनिएको छ ‘कानुनको उल्लंघन गर्नेहरूलाई दण्डित गरी यथावत कानुन परिपालना गराउन सम्बन्धित निकाय क्रियाशील हुनै पर्ने कुरालाई अनिवार्य दृष्टिगत गरी उल्लेखित कानुनको परिपालना गर्नु गराउनू…।’