कर्मचारीले फेसबुक चलाउने नपाउने आचारसंहिता जारी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

कर्मचारीले फेसबुक चलाउने नपाउने आचारसंहिता जारी



काठमाडौँ– सर्वोच्च अदालतले आफू मातहतका कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा सतर्कता अपनाउनु पर्ने आचारसंहिता जारी गरेको छ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार अदालतमा कार्यरत कर्मचारीको आचारसंहिता, २०७५ जारी गर्दै सर्वोच्च अदालतले सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको हो। चैत २७ गते बसेको फूल कोर्टले ऐन बनेको ११ वर्षपछि आचारसंहिता अनुमोदन गरेको थियो‍।

सर्वोच्चले यसअघि नै कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, भाइवर, मेसेन्जर प्रयोग गर्न रोक लगाएको थियो। आचारसंहिताले अब कार्यालय समय बाहेक कर्मचारीले सामाजिक सञ्जालको प्रयोग गर्दा अदालतको मर्यादा र आस्थामा आँच नआउने गरी व्यवहार गर्नुपर्ने मुख्य रजिष्टार नृपध्वज निरौलाले जानकारी दिए।

यसअघि नेपाली सेनाले पनि आचारसंहिता जारी गर्दै सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको थियो ।

आचारसंहितमा लेखिएको छ, ‘सामाजिक सञ्जालहरु प्रयोग गर्दा अदालतको मर्यादा र आस्थामा आँच नआउने गरी व्यवसायिक आचार संहिताको अधिनमा रही उच्चतम सर्तकता अपनाइ प्रयोग गर्नुपर्नेछ ।’

अदालतका कर्मचारीले न्यायपालिका, न्यायाधीशको मर्यालाम असर पुग्ने, जनमानसमा भ्रम तथा अविश्वास पैदा गर्ने, राजनीतिक उद्देश्यले प्रचारप्रसार गर्ने सामाग्री पोष्ट तथा शेयर गर्न रोक लगाएको छ ।

आचार संहिताले अदालतका कर्मचारीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यापार व्यवसाय गर्न पनि प्रतिबन्ध लगाएको छ ।

आचार संहिताको बुँदा नम्बर ९ मा उल्लेख गरिएको छ, ‘प्रचलित कानुनले अनुमति दिएकोमा बाहेक कर्मचारीले आफू एक्लैले वा कुनै व्यक्ति वा समूहसँग मिलेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै पनि व्यापार व्यवसाय गर्न हुँदैन ।’

आचार संहिता सर्वोच्च अदालतका साथै उच्च, विशेष, जिल्ला अदालतका कर्मचारीलाई लागू हुनेछ ।