यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटिएनन् - ४० जना मात्रै पुरस्कृत - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटिएनन् – ४० जना मात्रै पुरस्कृत



काठमाडौं- आज १९ औँ निजामती सेवा दिवस मनाईंदैछ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरेको छ ।

१० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् । तर, सरकारले अघिल्ला वर्षझैँ यसवर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेको छैन ।

निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने प्रावधान छ । तर, प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन् ।

सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले आर्थिक, सामाजिक विकास र नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरेका छन ।

विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो । त्यहि दिनको स्मरणमा सरकारले विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू गरी मनाउँदै आएको छ ।