करिश्माले पनि छोडिन् डा. बाबुरामको साथ - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

करिश्माले पनि छोडिन् डा. बाबुरामको साथ



काठमाडौँ – केही बर्ष अघि काठमाडौँमा एउटा कार्यक्रममा नायिका करिश्मा मानन्धरलाई नयाँ शक्ति पार्टीमा प्रवेश गराउँदा पार्टीका संयोजक डा. बाबुराम भट्टराई मुहारमा जुन खालको मुस्कान छाएको थियो, त्यस्तै खुसी नायिका मानन्धरमा पनि थियो ।

नयाँ शक्ति पार्टीको विकास र विस्तारका लागि नायिका मानन्धर गाउँगाउँ पुगिन् । तर, उनको खुसी राजनीतिक हिसाबले लामो समयसम्म रहन सकेन । नायिका मानन्धरले नेपालको राजनीति एकदमै बुझ्न नसकिने रहेको भन्दै आफूलाई एकदमै गाह्रो भएको बताएकी छिन् । उनले राजनीतिमा पोजिसन बिना आइडिया सेयर गर्न पनि नसकिने भन्दै पदका लागि हुने द्वन्द्व आफ्ना लागि नसुहाउने भएको कुरा उनले बताइन् ।

एक दैनिक पत्रिकासँग कुरा गर्दै नायिका मानन्धरले आफूले नयाँ शक्ति पार्टीमा गएर धेरै कुरा सिकेको भन्दै घुमाउरो तरिकाले अब यो पार्टी छाडेको बताएकी छिन् । उनले, नयाँ शक्ति पार्टी र फोरमको एकीकरणपछि बनेको स्थितिलाई राम्रो भन्दै यो नयाँ पार्टीमा आफू सामेल हुनैपर्छ भन्ने नरहेको पनि बताएकी छिन् ।

कुनै पनि पार्टीमा आबद्ध भएर मात्रै राजनीति नहुने भन्दै स्वतन्त्र रूपमा ललितपुर(करिश्माको क्षेत्र)बाट चुनाव लड्न सक्ने पनि उनले उल्लेख गरिन् । उनले थपडी बजाउनका लागि मात्र राजनीति नगर्ने भन्दै अब आफ्नो भूमिका खोज्ने बताइन् । आफू अब कसैको बाँसुरी बजाएर नहिड्ने समेत उनले बताइन् । पदको लोभमा नलाग्दा कसैको नराम्रो कामको विरोध गर्न पनि सजिलो हुने करिश्माको तर्क छ ।

करिश्माले डा. बाबुराम भट्टराईको पार्टी र उपेन्द्र यादवको पार्टी एकीकरणपछि बनेको नयाँ पार्टीमा सहभागी नहुने र कसैको बाँसुरी नबजाउने स्पष्ट पारिन् ।