विप्लव समूहका उपत्यका इञ्चार्ज कारागार चलान
काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का काठमाडौं उपत्यका इञ्चार्ज नविन विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोट प्रकरणको मुद्दाको पुर्पक्षका लागि विक जेल चलान भएका हुन् ।
असोज ६ गते ललितपुरको इमाडोलबाट पक्राउ परेका विकलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
ललितपुर जिल्ला अदालतको असोज ९ गतेको आदेशले विकलाई मुद्दाको पुर्पक्षका लागि नख्खु कारागार कार्यालय चलान गरिएको ललितपुर प्रहरीले जनाएको छ ।