कपिलवस्तु तिलौराकोटमा उत्खननको कार्य शुरु - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कपिलवस्तु तिलौराकोटमा उत्खननको कार्य शुरु



कमल बन्जाडे / कपिलवस्तु

बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न उत्खनन शुरू भएको छ । प्राचिन कपिलवस्तु तिलौराकोटमा पुरातत्व विभागले भुभौतिक सर्वेक्षणबाट अन्वेषण गरेपश्चात् तिलौराकोटमा चोथौ पटक उत्खनन् शुरु गरिएको हो ।

उत्खननबाट टोलीले तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने पुरातत्व विभागका अधिकृत राम बहादुर कुँवरले बताउनुभयो । विज्ञहरुको टोलीले ५५ दिन लगाएर तिलौराकोटको उत्खनन र बुद्धसंग सम्वन्धित अन्य क्षेत्रहरुको अन्वेषण गर्ने बताइएको छ । उहाँका अनुसार तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र समयमाई मन्दिरको किनारमा उत्खनन गरिने छ । यसअघि तिलौराकोट दरबार भित्र मध्यभाग, पोखरीको दक्षिण भाग र निग्राधाराम कुदानमा पनि उत्खनन गरिएको बताइएको छ । पुरातत्व बिभाग र लुम्बिनी विकास कोषले सन २०१४ देखि उत्खनन तथा अनुसन्धान कार्य गर्दै अएको छ ।

यसपटक तिलौराकोट क्षेत्रको उत्खनन संगै केही महत्वपूर्ण बुद्धस्थलमा अध्ययन अन्वेषण गरिने छ । तिलौराकोट नजिकका चेत्रादेइ, सगरहवा, कर्मा, अरौराकोट, गोटिहवा, निग्लिहवा, सिसहनिया, नवलपरासीको रामग्राममा अन्वेषण गरिने भएको छ । उक्त अन्वेषणको काममा भुभौतिक सर्वेक्षण (मेसिन), फिल्ड सर्वेक्षण, भिजिटर सर्वेक्षण लगायतका कार्य गरिने बताइएको छ ।

यसबर्ष जापानीज नागरिक कासाईको सहयोगमा उत्खनन गर्न लागीएको हो । अहिले सम्मको अध्ययन, अन्वेषणले तिलौराकोटको पहिचान स्थापित गराउन धेरै मद्दत पुगेको पुरातत्विदले जानकारी दिएका छन् । तिलौराकोटलाई बिश्व संपदा सुचीमा राख्न प्रस्तावित गरिएको छ, यसका लागि आवश्यक प्रमाण र कागजातहरु जुटाउने काम समेत भईरहेको छ ।