कपिलवस्तुमा हिन्दू र मुस्लिमबीच तनाव, कर्फ्यु आदेश जारी
काठमाडौं– कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएको छ । लक्ष्मी पूजा गरेपश्चात हिन्दू र मुस्लिम समुदायबीच तनाव भड्किएको हो ।
लक्ष्मी पूजा गरेपछि मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच तनावको स्थिति सिर्जना भएको हो । स्थिति नियन्त्रण बाहिर भएको भन्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
लक्ष्मी पूजा गरिसकेपछि हिन्दू समुदायका व्यक्तिहरुले कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्न लगेका थिए । तर, मुस्लिम समुदायका युवाहरुले मूर्ति विसर्जनमा अवरोध गरेपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर तथा दक्षिण तर्फ पनि ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।