कैलालीको धनगढीमा कपडा बैंक सञ्चालन हुदै - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

कैलालीको धनगढीमा कपडा बैंक सञ्चालन हुदै



हिमाल पोस्ट / कैलाली ।

सुदुर पश्चिम् प्रदेशको अस्थायी राजधानी धनगढीमा कपडा बैंक सञ्चालन हुने भएको छ । धनगढी उप–महानगरपालिका- ४ शिवपुरी धाममा कपडा बैंक सञ्चालन हुने भएको हो ।

धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको संयुक्त लगानीमा बनाइएको कपडा बैंकमा आइतबारदेखि सामानहरु संकलन गरिने भएको छ ।

बैंक घरमा लगाउन मिल्ने पुराना कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका मानव जिवनमा प्रयोगमा आउने सामान भोलिदेखि संकलन गर्न सुरु गरिने कपडा बैंक सञ्चालक मध्येका एक गोपाल हमालले जानकारी दिए ।

बैंक घरबाट अनाथ तथा गरिब व्यक्तिले त्यस्ता कपडा सित्तैमा लैजान पाउने जानकारी दिदै हमालले आईतवारदेखि कपडा संकलन सुरु गरि केही दिनपछि औपचारिक उद्धघाटन गर्दै कपडा वितरण गरिने बताए ।
करिब १५ लाख लागतमा गत मंसिरदेखि निर्माण सुरु भएको भवन अहिले सम्पन्न भएको हो ।

प्रयोग गर्न मिल्ने कपडा, जुत्ताचप्पल, झोला लगायतका सामानहरु दिन इच्छुक ब्यक्तिले ज्ञानु शाह (९८६४३१०७१५ ) लाई सम्पर्क गर्न सकिने बताइएको छ ।