पुर्वकानुनमन्त्री तामाङले यसरी तोडे कानुन ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पुर्वकानुनमन्त्री तामाङले यसरी तोडे कानुन !



काठमाडौं- पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले सांसद पूर्वाधार विकास कोषको रकम दुरुपयोग गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शेरबहादुर तामाङले सांसद विकास कोषको बजेट कानुन विपरीत विनियोजन गरेपछि सिन्धुपाल्चोकका पत्रकार निरोज चौलागाईंले तामाङविरुद्ध गत फागुन २८ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन्।

उच्च अदालत पाटनका न्यायाधीश नरेन्द्रकुमार सिवाकोटीको एकल इजलासले मुद्दामा सुनवाइ गर्दै तामाङविरुद्ध कारण देखाउ आदेश जारी गर्दै चैत्र ११ गते उच्च अदालत पाटनमा उपस्थित हुन आदेश दिएको छ।

गत मसिंरमा सांसद विकास कोषको रकम विनियोजन र योजना छनौटका विषयमा बुझ्न सूचना माग गर्दा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले योजना छनौटका विषयमा सूचना लुकाएपछि आफूले सूचना मागसहित विनियोजन रकम कानुनविपरीत भएको भन्दै अदालतमा जानु परेको चौलागाईंले बताए।

‘कानुन विपरीत रकम विनियोजन भएको सूचना पाएकाले बुझ्न खोजें। तर नियोजित तरिकाले सूचना नदिएपछि मुद्दा दर्ता गरेको हुँ,’ चौलागाइले भने। सांसदले आफ्नो निर्वाचन क्षेत्रमा एक वर्षमा साना ठुला गरी २० भन्दा बढी योजनामा रकम विनियोजन गर्न नपाइने व्यवस्था छ। तर तत्कालीन कानुनमन्त्री समेत रहेका तामाङले २९ वटासम्म योजना रकम विनियोजन गरेका छन्।

तत्कालीन कानुनमन्त्री तामाङले मनमोहन स्मृति भवनमा ५० लाख, कम्पाउन्डका लागि ५० लाख र जिल्लाका रेडियोहरूलाइ समेत विकासका लागि विनियोजन गर्नुपर्ने रकम दुरुपयोग गरी वितरण गरेका छन्।

यी सबै योजना स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७५ को दफा ८ को उपदफा १ र २ विपरीत गरेपछि आफूले कानुनी बाटो अबलम्बन गरी पूर्व कानुनमन्त्री तामाङलाई कानुनी बाटो देखाउन अदालत जानु परेको पत्रकार चौलागाईंको भनाइ छ।

सांसद तथा पूर्व कानुनमन्त्री भइसकेको व्यक्तिले पूर्वाधार विकास कोषको रकम जथाभावी वितरण गर्न पाइँदैन। ‘निर्देशिका छ, कानुन छ, विधान छ, यी सबै कुरा बिर्सेर कानुनमन्त्री भइसकेका व्यक्तिले यस्तो गर्दा उहाँका लागि जघन्य अपराध हो,’ पत्रकार चौलागाईंले भने, ‘आफ्ना कुकृत्य छोप्न र आफ्नै भजन गाउनेका लागि मात्र जथाभावी रकम बाँड्नु भएको रहेछ। यसरी बाँडनु गलत हो।’

यसअघि पनि सांसद विकास कोषको रकम जथाभावी बाँडेका कारण पूर्व अर्थराज्य मन्त्री ल्यार्केल लामा र सभासद रमेश लामाले तात्कालिन सिन्धुपाल्चोक जिल्ला विकास समितिमा तामाङको गलत रवैयाप्रति विरोध जनाएका थिए।

बंगलादेशमा अध्ययनरत नेपाली छात्राका विषयमा आँच आउने गरी अभिव्यक्ति दिएको भन्दै विरोध भएपछि कानुनमन्त्रीबाट तामाङले राजीनामा दिएका थिए।