महिलालाई आत्मनिर्भर र उद्यमशिल बनाउन कञ्चनपुरमा तालिमको आयोजना  - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

महिलालाई आत्मनिर्भर र उद्यमशिल बनाउन कञ्चनपुरमा तालिमको आयोजना 



‘निर्वाचन क्षेत्र नं १ मा २५ जना स्थानीय प्रशिक्षक तयार गरिँदै’

लाल बहादुर एसके
बेलौरी, कञ्चनपुर । समाजमा महिलाहरूको कमजोर उपस्थितिलाई सशक्त बनाउन सरकारले महिला उद्यमशिलता विशेष व्यवस्था गरेको छ । तर , यसको प्रभावकारीता भने खासै हुन सकेको पाइदैन । नेपाली समाजमा महिला अझै आत्मनिर्भर बन्न सकेका छैनन् ।

नेपाल सरकारका खानेपानी मन्त्री वीना मगरले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुलाई आत्मनिर्भर बनाउन एउटा यस्तै कार्यक्रम ल्याएकी छन । मन्त्री मगरले यस क्षेत्रका महिलालाई आत्मनिर्भर र उद्यमशिल बनाउन केन्द्रबाट एउटा टीम लिएर आएकी छन । टीमले प्राकृतिक स्रोत र साधनलाई प्रयोग गरेर कसरी उद्यमशिल बन्न सकिन्छ भनी सिकाउने छ ।

टीमले यस निर्वाचन क्षेत्र भरीका महिलालाई आत्मनिर्भर बनाउन २५ जना प्रशिक्षक तयार गर्नेछ । यस क्षेत्रका ४ वटा स्थानीय तहहरुबाट छनौट हुने २५ जनाले तालीम लिएपछि गाउँगाउँमा तालिम दिनेछन । यसरी महिला उद्यमशिलता विकास गर्ने योजना लिएर कञ्चनपुर पुगेकी मन्त्री मगर शनिबार कार्यक्रमको उद्घाटन गरेर शनिबार बेलुका नै काठमाडौं फर्किएकी छन ।

प्राकृतिक स्रोत साधनबाट निर्माण गर्न सकिने ढकिया, डाला लगायतका उत्पादन मुलक बस्तुहरुको उत्पादन गरि महिलाहरुलाई उद्यमशिल बनाउन सकिने मन्त्री मगरले बताईन । उनले महिलालाई सक्षम, सबल बनाउदैँ आर्थिक उन्नतिका लागि गाउँघरमा तालीम दिन लागिएको बताईन । उनले तालिम प्राप्त गर्ने सहभागीहरुले अवसरलाई भरपुर सदुपयोग गर्न आग्रह समेत गरिन ।

महिलाहरुले रजस्वला हुँदा प्रयोग गर्ने सेनिटेरी प्याड निर्माण गर्ने केहि थान मेसिन समेत ल्याइएको नेकपा नेता वीर बहादुर थापाले बताए । महिलालाई उद्यमशिल बनाउन मेसिन समेत ल्याईएको बताए । बजारमा विभिन्न कम्पनीले ल्याएका प्याडहरु पाइन्छन तर त्यस्ता प्याडले छाला तथा पाठेघरसम्मको इन्फेक्सन गराउनुको साथै खर्च पनि बढाउने हुन्छ । यसरी निर्माण हुने घरेलु सेनेटेरी प्याड सफा गरेर पुन प्रयोग गर्न सकिने भएकाले वातावरण प्रदुषण कम गर्नुको साथै विभिन्न किसिमका छालाका इन्फेक्सनबाट जोगिन मद्दत गर्छ । यसलाई प्रभावकारी बनाउन सके उद्यमशिल महिलाहरुले आर्थिक पाटो समेत बनाउन सक्नेछन ।

कार्यक्रमको उद्घाटन बेलौरी उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो । उत्पादन सम्बन्धि तालिम उद्घाटन कार्यक्रममा प्रदेश सभा सांसद कुलवीर चौधरी, बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरी, लालझाडी गाउँपालिकाका प्रमुख मदनसेन बडायक, नेकपा नेता वीर बहादुर थापा, पल्लवराज भट्ट लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।