घोडाघोडी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा कञ्चन बैंकद्बारा आर्थिक सहयोग - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

घोडाघोडी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा कञ्चन बैंकद्बारा आर्थिक सहयोग



सुखड,कैलाली । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्नको लागि कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले घोडाघोडी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।

घोडाघोडी नगरपालिकालाई कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड सुखड शाखाका प्रमुख प्रेम भट्टराईले घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीलाई शुक्रबार ३५ हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कोरानाको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण विपन्न वर्गलाई छाक टार्न भएको समस्यालाई महशुस गर्दै रकम हस्तान्तरण गरेको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड सुखड शाखाका प्रमुख भट्टराईले बताए ।

नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरिएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गर्दै नगर प्रमुख चौधरीले विपदको बेलामा सबैमिली सहयोग गर्नको लागि आग्रह समेत गरेका छन् ।

विभिन्न सघंसस्था बाट आएको रकम तथा खाद्यान्न साँझ बिहानको एक छाक खाना पनि जुटाउन मुस्किल भएका अति विपन्न परिवारका लागि खर्च गरीने नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले जानकारी दिए । बिहिवारबाट संचालनमा ल्याइएको स्थानीय प्रकोप व्यवस्थापन कोषमा नगरपालिकाले २५ लाख बजेट छुट्याइएको छ ।

त्यस्तै नगरपालिकाले एक सुचना जारी गर्दै विपन्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग गर्नुपरेमा स्थानीय तहसंग समन्वय गर्नुपर्ने बताइएको छ । स्थानीय तहले तोकेको मापदण्डअनुसारका सहयोग सामाग्री भएमा स्थानीय तहले स्वीकार गरि वडा स्तरीय समिति मार्फत वितरण गरि जिल्ला प्रसाशन कार्यालयमा जानकारी गराउनु पर्ने हुँदा आफू खुशी वितरण नगरी स्थानीय तहसंग समन्वय गर्न अनुरोध समेत गरेको छ । साथै सुचनामा कुनै पनि व्यक्ति वा संघसंस्थाहरुले राहत संकलन गर्ने बहानामा चंदा संकलन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने समेत नगरपालिकाले जनाएको छ ।