माओवादीलाई सरकारमा सामेल गरे देश दुर्घटनातर्फ जान्छ- नागरिक समाज - Himal Post Himal Post
  • २१ पुष २०८१, आईतवार
  •      Sun Jan 5 2025
Logo

माओवादीलाई सरकारमा सामेल गरे देश दुर्घटनातर्फ जान्छ- नागरिक समाज



काठमाडौं । नागरिक समाजले बुधबार एउटा धारणा सार्वजनिक गर्‍यो– कांग्रेसले सत्ता गठबन्धनभित्रैबाट सरकार बन्यो भने त्यसले देशलाई दुर्घटनातर्फ धकेल्ने छ ।

सार्वजनिक गरिएको त्यो अपिलमा हस्ताक्षरकर्ता कनकमणि दीक्षित, सुशील प्याकुरेल, युवराज घिमिरे, तीर्थमान शाक्य र कुलचन्द्र गौतमको नाम उल्लेखित अपिलमा कांग्रेस एमालेलाई सहकार्यका लागि सुझाव दिइएको थियो ।

त्यो सुझावको तत्पर्य कांग्रेस एमालेको सरकार बनाउन् भन्ने हो ? भन्ने प्रश्नमा दीक्षितले सरकार बनाउन् भनेर विज्ञप्तिमा नभनेको बताए ।

विज्ञप्तिमा स्पष्टरुपमा कांग्रेसलाई पहिलो पार्टीको रुपमा सरकार बनाउँदा गठबन्धन बाहिर गएर सरकार बनाउन सुझाव दिइएको छ भने कांग्रेस र एमालेबीच सहकार्य गर्न भनिएको छ ।

तर, त्यसको मतलब सरकार बनाउनु भन्ने नभए पनि आफू व्यक्तिगत रुपमा भने कांग्रेस–एमालेको सरकार उपयुक्त हुने पक्षमा रहेको बताए ।

“यो हाम्रो समूहको धारणा होइन । तर, मेरो व्यक्तिगत धारणा भन्नुहुन्छ भने कांग्रेस–एमाले मिलेर सरकार बनाउँदा देशलाई फाइदा पुग्छ भन्ने हो,” दीक्षितले भने, “विगतमा पनि ठूला संकटहरु कांग्रेस एमालेको सहकार्यबाट नै पार लागेका छन् । यसपटक पनि कांग्रेसले धेरैवटा दल लिएर सरकार बनाए स्वार्थ व्यवस्थापनमा हुने समस्याले दुर्घटना निम्त्याउन सक्छ ।”

उनले ०४६को जन आन्दोलन होस् वा ०६२–६३ को जनआन्दोलन कांग्रेस एमालेको सहकार्यबाट नै पार लागेको भन्दै संविधान जारी गर्ने समयमा पनि उनीहरुको सहकार्य भएको स्मरण गरे ।

“महत्वपूर्ण समयमा सहकार्य गरेर समस्याबाट पार लगाउने यी दल अहिले पनि सहकार्य गर्दा राम्रो हुन्छ,” दीक्षितले भने, “मेरो विचारमा एमाले कांग्रेसलाई समर्थन दिएर २५ वटै मन्त्रालय उसले नै नेतृत्व गर्नेगरी समर्थन गर्दा हुन्छ । मेरो विचारमा एमालेले यो काम गर्छ पनि ।”

उनले विश्वास बढाउने हो भने सत्तामा साझेदारी गर्दा पनि फरक नपर्ने बताए ।

क्षयीकरण हुँदै गएको नेकपा माओवादीलाई कांग्रेसले च्यापेमा त्यसले कांग्रेस र देश दुवैलाई फाइदा नगर्ने बताए ।

“अहिले कांग्रेसले माओवादीलाई च्याप्यो भने त त्यो गल्ती एमालेले दोहोर्‍याउन सक्छ,” दीक्षितले भने, “एमाले पनि माओवादीसँग मिलेर सरकार बनाउनुपर्छ भन्ने समूह छ । कांग्रेसले अहिले माओवादीलाई हटायो भने भोलि एमालेले बोक्ने बाटो पनि बन्द हुन्छ ।”