कमाउने छोरा बित्दा हामी बूढाबूढीको दुर्गति भयो !
राजविराज– प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि यति बेला सबैको ध्यान सरकार गठन र सत्ता गठबन्धनमा केन्द्रित छ। नेताहरू सांसद, मन्त्री र मुख्यमन्त्री बन्ने दौडमा छन् भने सर्वसाधारण सङ्घीय संरचना अनुसार देश कसरी अघि बढ्ला भन्नेमा केन्द्रित छन्।
तर, बुढेसकालको सहारा जवान छोरो मारिएपछि सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मलेठकी शान्तिदेवीलाई भने अहिलेका राजनीतिक घटनाले कुनै प्रभाव पारेको छैन। उनलाई यति बेला कान्छो छोराको पढाइ र परिवारको पालन-पोषणको चिन्ताले सताएको छ।
गत वर्षको २३ फागुनमा नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा भएको हिंसात्मक घटनामा प्रहरीको गोली लागेर उनका माहिला छोरा २५ वर्षीय सञ्जन मेहताको मृत्यु भएको थियो। कमाउने छोरा गुमाएपछि उनलाई पछिल्लो समय कान्छो छोरा सुनिलको पढाइ खर्च कसरी जुटाउने भन्ने पिरलो आइलागेको हो।
जेठो छोरो रञ्जन अलग्गै बस्न थालेपछि वृद्ध बाबुआमाको भरण–पोषणका साथै कान्छो भाइको पढाइ खर्चको सबै व्यवस्था सञ्जनले नै मिलाउँदै आएका थिए। घरव्यवहार थेग्ने छोराकै मृत्यु भएपछि कान्छाको पढाइ खर्च जुटाउँदा अहिलेसम्म ५ कठ्ठामध्ये ३ कठ्ठा खेत बेच्नुपरेको शान्तिदेवीले रुँदै बताइन्।
‘भएको ५ कठ्ठामध्ये ३ कठ्ठा छिमेकीलाई बेचेर छोरालाई खर्च पठाइदिएका छौँ’, उनले भनिन्, ‘बाँकी २ कठ्ठा बाहेक अब अरू कुनै जायजेथा छैन।’
पुत्रवियोगको पीडामा छटपटिएका शान्तिदेवी र उनका पति लक्ष्मणप्रसाद मेहतालाई छोडेर माहिली बुहारी सविता पनि माइतीमै बस्न थालेकी छिन्।
‘छोराको मृत्युको केही दिनपछि बुहारी पनि हामीसँग सम्बन्ध तोडेर माइतीतर्फ लागी’ शान्तिदेवीले भनिन्, ‘हामी बूढाबूढीको दुर्गति छ।’
अन्य आयस्रोत केही नभएकाले गुजारा चलाउन पनि समस्या रहेको भन्दै उनले थपिन्–‘कम्तीमा कान्छाको पढाइ खर्चको चिन्ता नभैदिए हुन्थ्यो, हामी बूढाबूढी त अब कति नै बाँचौंला र!’
बाबुआमाको पालनपोषण तथा भाइको पढाइ खर्च जुटाउन सञ्जन मलेठ घटनाको केही महिना अघिसम्म वैदेशिक रोजगारीमै थिए। घर आएको ६ महिना पनि नबित्दै मलेठ घटनामा मृत्यु भएको उनका बालसखा भीमराज साहले बताए। २३ फागुनको मलेठ घटनामा सञ्जनसहित ५ जनाको ज्यान गएको थियो।
घटनामा मलेठकै द्रौपदीदेवीका ज्वाइँ वीरेन्द्र महतो, पिताम्बर मण्डल, इनरदेव यादव र आनन्द साहको मृत्यु भएको थियो।
नेपाल लाईभको सहयोगमा