पूर्वराजाको सम्पत्तिमा 'नयाँ राजा'हरूको मस्ती: कमल थापा - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

पूर्वराजाको सम्पत्तिमा ‘नयाँ राजा’हरूको मस्ती: कमल थापा



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुराना राजाहरूको सम्पत्ति नयाँ राजाहरूले दुरुपयोग गरेको आरोप लगाएका छन् ।

तत्कालीन शाहवंशीय राजसंस्थाको नाममा रहेको सम्पत्ति अहिलेका शासकहरुले आफ्नो स्वार्थमा प्रयोग गरेको भन्दै उनले आक्रोश ब्यक्त गरेका छन् ।

पछिल्लो समय चर्चा र बिबादमा रहेको नेपाल ट्रस्टको नाममा रहेको दरबारमार्गस्थित १४ रोपनी जग्गा निजी क्षेत्रको यति समूहलाई कौडीको भाउमा भाडामा दिएको बिषयलाई लक्षित गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

दरबारमार्गस्थित १४ रोपनी जग्गाको काण्ड सार्वजनिक भएसँगै थापाले धेरैले यसलाई नेकपाका कतिपय मन्त्रीहरू र वर्तमान सरकारले आर्थिक लाभमा निकै तल्लोस्तरको काम गरेको भन्दै विरोध गरिरहेका छन् ।

नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थामसेर्कु डेभलपर्सलाई भाडामा दिँदा पाँच अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको समाचार सार्वजनिक भइरहेका बेला थापाले सत्तारुढ दलका नेताहरुलाई ‘नवराजा’ को संज्ञा पनि दिएका छन्।

‘राजसंस्था पाखा लगाइयो। राजाको सम्पत्ति राष्ट्रियकरण गरियो’, उनले भनेका छन्, ‘त्यो राष्ट्रिय सम्पत्तिलाई अहिले व्यापारीसँग मिलेर परिवर्तनका संवाहक कथित ‘नवराजा’हरुले ब्रह्‍मलुट गरिरहेका छन्। के यही हो परिवर्तन?’

थापालले नेपाली जनता अझै पार्टीको रैतीभन्दा माथि उठ्न नसकेको जनाएका छन्। सरकारी सम्पत्तिको व्यापक दुरुपयोग हुँदा पनि जनस्तरबाट प्रतिरोध नभएको सन्दर्भमा उनले यसो भनेका हुन्।

‘आमजनता पार्टीको रैतीभन्दा माथि उठेर स्वाभिमानी नागरिक भएको दिन अपराधीलाई अवश्य कानुनको कठघरामा उभ्याउनेछन्’, उनले अन्तिममा भनेका छन्।

नेपाल ट्रस्टको सञ्चालक समिति बैठकले ०७१ साउन २८ मा दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा दिन स्वीकृत गरेको थियो ।

बोलपत्र आह्वान गर्दा ६ कम्पनी प्रतिस्पर्धी थिए। तर यति समूहले आफ्नो शक्तिले प्रभावित बनाएर उक्त जग्गा हत्याएको थियो।

थामसेर्कुकै लगानीकर्ताको यति समूहलाई नेपाल ट्रस्ट मातहतको गोकर्ण रिसोर्ट र जंगल पनि आगामी २५ वर्षका लागि कौडीको भाउमा दिइएको छ।