राष्ट्रपति र प्रधानमन्त्रीको ताल देखेर कमल थापालाई लाज लागेपछि... - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

राष्ट्रपति र प्रधानमन्त्रीको ताल देखेर कमल थापालाई लाज लागेपछि…



काठमाडौं- भारतीय राजदूत मन्जीभसिंह पुरीको बिदाइमा देखिएको दृश्यले सबैको ध्यान तान्यो । धेरैले यसलाई व्यंग्य पनि गरे । सामाजिक सञ्जालमा चर्को बिरोध पनि भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पनि भारतीय राजदूत मन्जीभसिंह पुरीको बिदाइमा नेताहरुको ‘अस्वाभाविक व्यवहार देखिएको’ बताएका छन् ।

विभिन्न देशका राजदूतहरु आउने–जानेक्रम चलिरहने र त्यो स्वाभाविक प्रक्रिया भएको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘राजदुतहरु आउने जाने क्रम चलिरहन्छ। त्यो स्वभाविक हो। तर,अहिले भारतिय राजदुतको बिदाईको सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुको अस्वभाविक व्यवहार देख्दा लज्जावोध हुन्छ।देशमा ठुलो परिवर्तन भयो,गणतन्त्र आयो भनिन्छ तर नेताहरुको राणाकालिन आत्मसमर्पणवादी मानसिकता भने झन बढेर गयो।’

शनिबार बिहान आफ्नो ट्वीटमा उनले लेखेका छन्–‘तर, अहिले भारतीय राजदूतको बिदाइको सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुको अस्वाभाविक व्यवहार देख्दा लज्जाबोध हुन्छ ।’

देशमा ठूलो परिवर्तन भएपनि ‘नेताहरुको राणाकालीन आत्मसमर्पणवादी मानसिकता भने झन् बढेर गएको’ उनको आरोप छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसित राजदूत पुरीले यही पुस ८ गते राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार बिदाइ भेट गरेका थिए ।

सोही दिन बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसित पनि राजदूत पुरीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर बिदाइ भेट गरेका थिए । प्रधानमन्त्री ओलीले उनलाई करुवा उपहार प्रदान गरेका थिए ।

दुवै भेटमा पुरीकी श्रीमती पनि साथमै थिइन् ।

यस्तै, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसित उनीहरुकै निवासमा पुगेर पुरीले बिदाइ भेट गरेका थिए ।

ती भेटहरुकाबारेमा सामाजिक सन्जालमा विभिन्न टीका–टिप्पणी भएको थियो ।

नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरी आफ्नो कार्यकाल सकाएर आउँदो जनवरी १ तारिखमा स्वदेश फर्कंदैछन् । उनी सन् २०१७ मार्च २६ देखि यहाँ भारतीय राजदूतकारुपमा रहेका छन् ।