मन्त्री बन्ने सर्तमा एमाले प्रवेश गर्दै कमल थापा
नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचन लडेका कमल थापाले एमाले प्रवेश गर्ने भएका छन् । उनी एमाले प्रवेश अर्ने पूर्वासर्तामै एमालेको चुनाव चिन्ह लिएर लडेको एमालेका एक नेताले बताए ।
मकवानपुर क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका थापा एमाले अध्यक्ष केपी ओलीसँग नजिकिएदेखि नै यस्तो तयारी गरेको स्रोतले बताउँछ । उनी र ओलीबीच निर्वाचनपछि एमालेमा आधिकारिक रूपमा प्रवेश गर्ने भद्र सहमति भएको ती नेताको दाबी छ ।
ती नेताका अनुसार निर्वाचनपछि बन्ने सरकारमा थापाले मन्त्री पाउने पूर्वसर्त छ । उनी र ओलीबीच भएको सहमति अनुसार नै निर्वाचनपछि एमाले प्रवेश गर्ने भएपछि ओलीले एमालेका नेतालाई ब्याक गरेर थापालाई मकवानपुर क्षेत्र नंबर १ बाट एमालेको चिन्हमा उठाउने तय भएको थियो ।
पदको लागि जे पनि गर्नसक्ने आरोप लागिरहेका थापा र ओलीको पछिल्लो समय निकै हिमचिम मिलेको छ । थापा अहिले एमालेका कतिपय कार्यक्रमहरूमा पनि जाने गरेका छन् । शुक्रबारको एक कार्यक्रममा थापाले एमाले प्रवेश गर्ने छनक समेत दिएका थिए ।
मकवानपुरको वागमती गाउँपालिकामा भएको कार्यक्रममा थापाले एमालेका छुट्टै माया र स्नेह हुने भन्दै निर्वाचनपछि एमालेसँगै रहने बताएका थिए । उनले एमाले प्रवेश गर्ने र अवसर लिने सहमति भैसकेको एमाले वृत्तमा गाँईगुईं सुनिन थालेपछि नेताहरू भने सशंकित बनेको बताइन्छ ।