लिङ्देनले टुँडिखेलमा दौडिएर जिते भने अध्यक्ष छोड्छु: कमल थापा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

लिङ्देनले टुँडिखेलमा दौडिएर जिते भने अध्यक्ष छोड्छु: कमल थापा



काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापाले अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र लिङ्देनलाई टुँडिखेलमा दौडिएर आफूलाई जित्नका लागि चुनौती दिएका छन्।

१५ गतेदेखि सुरु हुने अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै उनले भने– यो विभाजनको रेखा नकोरौं। आउनुस् प्रतिस्पर्धा नै गर्ने भए टुँडिखेलमा दौडिएर मलाई जित्नुस्, अध्यक्ष पद छोड्छु।

अर्को समूह बनाएर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई संकेत गर्दै थापाले पुस्तान्तरणको कुरा गरेर पार्टीमा विभाजन नल्याउन आग्रह गरेका हुन्।

‘एकाधपटक चुनाव जित्दैमा कोही लोकप्रिय भइँदैन। यहाँ पार्टीमा धेरैपटक चुनाव जितेका मान्छे पनि हुनुहुन्छ’ उनले भने ‘यो नयाँ पुस्ता भनेको के हो? म कुन पुस्ता हुँ मलाई नै थाहा छैन। ८२ वर्षको फत्तेसिंह थारू हुनुहुन्छ। उहाँले मलाई खुल्लाबाट केन्द्रीय सदस्य उठ्छु एउटा भोट दिनुहोला भन्नुभएको छ।’

उनले नयाँ पुस्तालाई केही समय कुर्न पनि आग्रह गरे। ‘भाइ छोराहरूले परिवारको जिम्मेवारी लिन्छन् भने त राम्रो कुरा हो। अहिले पार्टीको अवस्था यति नाजुक छ कि यो भन्दा तल जाने ठाउँ नै छैन। चार वर्ष कुर्नुस्। त्यसपछि त आउने त तपाईंहरू नै हो’ उनले भने।