चुनाव चिन्ह बिहिन बने कमल थापा: 'गाई' माग्न अदालत जाँदा 'तिर' पनि फुस्कियो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चुनाव चिन्ह बिहिन बने कमल थापा: ‘गाई’ माग्न अदालत जाँदा ‘तिर’ पनि फुस्कियो



काठमाडौं– ‘गाई’ चुनाव चिह्न माग्न अदालत पुगेका कमल थापाले ‘तीर’ चुनाव चिह्न पनि नपाउने भएका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ‘तीर’ चुनाव चिह्न दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उनी चुनाव चिन्ह बिहिन बनेका छन्।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको आइतबारको एकल इजलासले थापा नेतृत्वको राप्रपालाई ‘तीर’ चुनाव चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगकका नाममा आदेश जारी गरेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि अर्को पार्टी (राप्रपा नेपाल) गठन गरेका थापाले स्थानीय तह निर्वाचन २०७९ को प्रयोजनका लागि ‘तीर’ चुनाव चिह्न रोजेका थिए।

स्थानीय तहको चुनावमा अपेक्षित मत नपाएपछि थापाले आफ्नो पार्टीको पुरानो चुनाव चिह्न ‘गाई’ पाउनुपर्ने दाबी गर्दै आएका थिए। आयोगले भने उनलाई ‘तीर’ चुनाव चिह्न प्रदान गर्ने निर्णय गरेको थियो।

प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पनि आयोगले थापाको पार्टीलाई ‘तीर’ चुनाव चिह्न प्रदान गर्ने निर्णय गरेको थियो। त्यसपछि थापाले आफ्नो पार्टीलाई ‘तीर’ चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय खारेज हुनुपर्ने र आफ्नो पार्टीले गाई चुनाव चिह्न पाउनुपर्ने मागदाबी गर्दै भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

थापाको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मल्लको इजलासले तीर चुनाव चिह्न निर्णय कार्यान्वयन नगर्न भनेको हो। ‘गाई’ चुनाव चिह्न प्रदान गर्ने लगायत विषयमा छलफलका लागि सर्वोच्चले भदौ १४ गते थापा र निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ।