कमल थापाका कारण निर्वाचन आयोग तनावमा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

कमल थापाका कारण निर्वाचन आयोग तनावमा



काठमाडौं- कमल थापाका कारण निर्वाचन आयोगको काम कारबाहीमा ढिलाई भएको छ । थापा नेतृत्वको राप्रपा नेपालको चुनाव चिह्न टुंगो नलाग्दा आसन्न निर्वाचनको काम नै ढिलाई भैरहेको बताइएको छ ।

निर्वाचन आयोगका एक अधिकारीका अनुसार राप्रपा नेपालका कारण मतपत्र छपाइमा ढिलाइ भैरहेको छ । प्रत्यक्षतर्फको मतपत्र भने उमेदवारको टुंगो लागिसकेपछि मात्रै छाप्न सुरु गरिने भएपनि समानुतिकतर्फको मतपत्र छपाइमा राप्रपा नेपालको कारण ढिलाइ भैरहेको उनले बताए ।

गाई चुनाव चिन्ह माग्न सर्वोच्च गएका कमल थापालाई पुरानो चिन्ह दिने निर्णय पनि तत्काल कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई आदेश दिएको थियो । थापाको रिटमा अहिले सुनुवाइ जारी छ ।

आज फैसला भए मतपत्र छपाइमा सहज हुने आयोगका ती अधिकारीले बताएका छन् । गाई चिह्न पाउनुपर्ने भन्दै थापाले दिएको रिटको फैसला नहुँदा समानुपातिकतर्फको मतपत्र छपाइमा ढिलाइ भएको बताइएको छ ।

थापाले गाई चिह्न पाउनुपर्ने भन्दै ०७९ असार ३० गते सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले साउन ८ गते गाई चिह्न अरु कसैलाई नदिन भन्दै अन्तरिम आदेश दिएको थियो । त्यसपछि दुई पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको थियो ।

चुनाव चिह्नको रिटमा फैसला नहुँदै मतपत्र नछाप्न भन्दै पुनः अर्को रिट दायर भएको थियो । त्यसमा अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।