डा. निकोलस भुसालसँग किन डराए बिष्णु पौडेल ? - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

डा. निकोलस भुसालसँग किन डराए बिष्णु पौडेल ?



काठमाडौं- उम्मेद्वारी दर्ता अगाडी निकै रोचक भिडन्त हुने देखिएको रुपन्देही क्षेत्र नंबर २ मा पछिल्ला घटनाक्रम र विकशित परिस्थितिले निर्वाचनको माहोल नै सेलाएको छ । निर्वाचन आयोग र एमालेका योजनाबद्ध खेलले नेकपा एमालेका विष्णु पौडेललाई सहज देखिएको छ ।

प्रदेश राजधानीसँग मन्त्री पद साटेको, एमालेमा गुटबन्दी फस्टाएको, बालुवाटारको जग्गा हडपेको, सुकुम्बासीलाई बारम्बार ढाँटेको लगायतका विवादले कमजोर देखिएका पौडेल एकाएक प्रतिस्पर्धी बिहिन बन्न पुगेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङ र लौरो चुनाव चिन्हबाट उम्मेद्वारी दिएका डा. निकोलस भुसालको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरेपछि पौडेलसँग प्रतिस्पर्धा गर्ने उम्मेदवार लगभग छैनन् भन्दा फरक पर्दैन । सर्वोच्च अदालतले राजु गुरुङको उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय सदर गरिसकेको छ भने डा. निकोलसको फैसला आउन बाँकी छ । यदि सर्वोच्चबाट भुसालको उम्मेद्वारी कायम भएको खण्डमा भने पौडेल संकटमा पर्ने देखिएको छ ।

रूपन्देही २ बाट लगातार जित्दै आएका पौडेल पछिल्ला विवादहरूका कारण कमजोर बनेको आंकलन गरिएको थियो । जसरी पनि निर्वाचन जित्ने रणनीति अनुसार निर्वाचन आयोगलाई समेत प्रभावमा पारेर पौडेल समूहकै कार्यकर्ताले प्रतिस्पर्धी उम्मेदवारहरूलाई आयोगमा उजुरी गरेका थिए । सोहि उजुरी अनुसार उम्मेद्वारी खारेज गरेका निर्वाचन अधिकृत अहिले विवादमा तानिएका छन् । क्षमताका आधारमा लिएको छात्रवृत्तिलाई लाभको पद भनेर गरिएको ब्याख्याले छुट्टै नजिर बनाउने पक्का भएको छ ।

रूपन्देही २ का निर्वाचन अधिकृत उद्बिर नेपाली एमालेका कार्यकर्ता भएको समेत खुलेपछि उनी थप विवादमा तानिएका छन् । उनी यसअघि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाका स्वकीय सचिव रहेका व्यक्ति हुन् । त्यतिमात्र होइन नेपालीकी श्रीमती गण्डकी प्रदेशसभामा एमालेकी सदस्य हुन् । निर्वाचन अधिकृत नेपालीलाई विष्णु पौडेलले नै रूपन्देहीको निर्वाचन अधिकृत बनाएको खुलेपछि पौडेलले नै योजनाबद्ध रूपमा प्रतिस्पर्धीहरूको उम्मेद्वारी खारेज गराएको चर्चा पनि चलेको छ ।

गठबन्धनका उम्मेदवार गुरुङ यसअघि पौडेलकै चुनावी कमान्डर थिए । उनले एमालेकै पनि मत काट्ने अनुमान गरिएको थियो त्यसमाथि गठबन्धनले नै सौहार्दरूपमा उनलाई स्वीकार गरिसकेको थियो । समग्रमा पौडेलका लागि ठूलो चुनौती बनिसकेका थिए गुरुङ । त्यसमाथि स्वतन्त्र अभियानबाट आएका लौरो चुनाव चिन्हबाट उम्मेद्वारी दिएका डा. निकोलस भुसालको पनि निकै राम्रो माहोल बनिसकेको थियो । उनले एमालेकै युवाहरूको पनि भोट पाउने अवस्था बनेपछि रुपन्देहीमा  रक्षात्मक बनेको महसुस गरेका पौडेलले प्रतिस्पर्धीलाइ सुरुमै पाखा लगाउने योजना बनाएको एमालेकै नेताहरू स्वीकार गर्छन । स्थानीयले पनि यसपाली पौडेल प्रतिस्पर्धाबाटै डराएको बताउँछन् ।

पौडेलले आफूलाई असुरक्षित महसुस गरेकै कारण यस्तो योजनामा लागेको एमालेकै एक नेताले बताए । उनका अनुसार अहिले गुरुङभन्दा पनि लौरोका उम्मेदवारबाट पौडेल त्रसित बनेका हुन् । एकातिर स्थानीय तहको निर्वाचनमा लौरोमा देखिएको समर्थन र त्यसमाथि रूपन्देहीको स्थानीय निर्वाचनले पौडेलमाथि थ्रेट बढाएको अवस्था मुख्य कारण हुन् । डा. निकोलस काठमाडौं महानगरका मेयर बालेन समूहका योजना बनाउने व्यक्ति भएकाले पनि पौडेल डराएको देखिन्छ ।