कालोधन लुकाउन नयाँ-नयाँ ‘आइडिया’ - Himal Post Himal Post
  • ४ असार २०८२, बुधबार
  •      Wed Jun 18 2025
Logo

कालोधन लुकाउन नयाँ-नयाँ ‘आइडिया’



हिमाल पोस्ट / नयाँ दिल्ली कात्तिक २५
सरकारले पाँच सय र हजार रुपैयाँको पुरानो नोटमा प्रतिबन्ध लगाएपछि भारतमा कालो धन जम्मा गर्ने व्यक्तिहरूले पैसा लुकाउन नयाँ तथा अनौठो काइदा निकालेका छन्। कालो धन र नक्कली नोटमाथि नियन्त्रण गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती राष्ट्रको नाममा सम्बोधन गर्दै पाँच सय र हजारको पुरानो नोट नचल्ने र पुरानो नोट हुनेले १० दिनभित्र बैंकबाट पुरानो रकम परिवर्तन गर्दै नयाँ रकम लिइसक्नु पर्ने बताएका थिए। यसको सिधा असर घरमा पैसा थुपारेर राख्ने व्यक्तिलाई परेको छ।
सरकारले अढाई लाखभन्दा बढी बैंकमा रकम जम्मा गर्ने व्यक्तिले आयस्रोत देखाउनु पर्ने उर्दी लगाएपछि कालो धन थुपारेर बस्नेलाई थप समस्या परेको हो। कालो धनलाई सेतो धन बनाउन प्रधानमन्त्री मोदीको भाषणपछि मानिसहरू गहना पसलतर्फ दौडिएका थिए।
मंगलबार राती र बुधबार दिउँसोसम्म देशका विभिन्न ज्वेलरी पसलमा सुन तथा हिरा खरिद गर्न मानिसहरूको ठूलो भिड लागेको थियो। पञ्जावको लुधियाना शहरमा मात्र बुधबार ४ घन्टाभित्र मानिसहरूले ४० करोडको सुन खरिद गरेको बताइएको छ। यसकारण प्रतितोला ३० हजारको हाराहारीमा रहेको सुन एकै रातमा ३४ हजार भारतीय रुपैयाँ प्रतितोला पुगेको थियो।
यस्तै, जालन्धरमा दुई व्यक्तिले पाँच सय र हजारको नोट सटही गर्न रेल्वेको सहारा लिएका छन्। रेल्वेको टिकट र अस्पतालमा केही दिनका लागि यी रकम चल्ने बताइएपछि ती दुई व्यक्तिले करिब ४ लाख २५ हजारको टिकट खरिद गरेका थिए। जानकारका अनुसार १५ दिनपछि बुकिङ टिकट रद्ध गरेर पैसा फिर्ता लिन उनीहरूले यस्तो उपाय अपनाएका हुन्।
मानिसहरूले पैसा लुकाउन गरिब तथा कम आय भएका व्यक्तिलाई लोभ्याउन थालेका छन्। उनीहरूले विपन्न वर्गका व्यक्तिहरूबाट पैसा सटही गर्दै कमिसनमा कालो धनलाई सुरक्षित गर्ने अभियान सुरु गरेको बताइएको छ।