कैलालीका सामुदायिक विद्यालयमा अंग्रेजीमा पढाई सुरु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कैलालीका सामुदायिक विद्यालयमा अंग्रेजीमा पढाई सुरु



सबै विद्यार्थीहरु बोर्डिङ स्कूल र निजि स्कूलमा जान थाले, कैलालीका अधिकांश सामुदायिक बिद्यालयमा विद्यार्थीको खडेरी लाग्न थालेपछि कैलालीका विद्यालयले अंग्रेजी माध्यमबाट पनि पढाई सुरु गरेका छन् ।

केहि सामुदायिक विद्यालयहरुले विगतदेखि नै अंग्रेजी माध्यमबाट पढाई सुरु गरिसकेकोमा केहिले भने चालु शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने तयारी गरेका हुन् ।

सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यममा पढाई हुन थालेपछि विगतमा देखिदै आएको विद्यार्थीको खडेरी पनि न्युनीकरण भईरहेको छ । निशुल्क रुपमा सामुदायिक विद्यालयमै अंग्रेजी माध्यमबाट पढाई सुरु भएपछि गुणस्तर बढेर भविष्यमा सरकारी सुविधा र सहुलियत पाईने आशा सहित विद्यार्थी र तीनका अभिभावकहरु प्नि मख्ख भएका छन् । उनीहरु निजि विद्यालयबाट आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना पनि गर्न थालेका छन् ।

कैलालीको गेटामा रहेको सरस्वती नमुना माविमा २०६७ सालबाट अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन भएपछि जिल्लाका अधिकांश विद्यालयहरुले त्यस्को सिको गर्दै अंग्रेजीमा पनि पढाई सुरु गरेका हुन् । अंग्रेजी माध्यमबाट पढाई सुरु भएसंगै बोर्डिङ छोडेर सरस्वती नमुना माविमा भर्ना हुने विद्यार्थीको क्रम बढ्दै गएको थियो । गत शैक्षिक सत्रदेखि अग्रेंजी माध्यममा पनि पढाई सुरु गरेको विद्यालय हो, त्रिभुवन मावि बोराडाँडी ।

त्रिभुवन माविमा पनि अंग्रेजी माध्यममा पढाई सुरु भएसंगै अहिले विद्यार्थीहरु बढ्दै गएका छन् । सामुदायिक विद्यालयले सुरु गरेको अंग्रेजी माध्यममा विद्यार्थीको उपस्थिति बढ्न थालेपछि स्कुलले विद्यार्थीहरुका लागि बसको व्यवस्था समेत मिलाईसकेको त्रिभुवन माविका प्रधानाध्यापक सीताराम अवस्थीले जानकारी दिए ।
निजि विद्यालयमा चर्को शुल्क तिर्नु परेपछि अभिभावकले आफ्ना सन्तानलाई अंग्रेजी माध्यममा सञ्चालित सरकारी स्कुलमा भर्ना गर्न थालेका हुन् । हुन त अंग्रेजी माध्यमबाट पढाई सुरु गरेका सामुदायिक विद्यालयहरु पनि केहि शुल्क लिने गरेका छन् तर त्यो निजी विद्यालयहरुको शुल्क भन्दा धेरै कम छ ।

यस क्षेत्रका विद्यार्थी तथा तीनका अभिभावकहरुमा अंग्रेजी विषयप्रतिको आकर्षण बढ्दै गएकाले सामुदायिक विद्यालयको ध्यान पनि अंग्रेजी माध्यममा पढाई सुरु गर्नतिर केन्द्रित वनेको हो । यसै बर्षदेखि अंग्रेजी माध्यमबाट पनि पढाई सुरु गर्ने तयारी गरिरहेको धनगढीको बैयावेहडीमा रहेको शारदा माविका प्रधानाध्यापक तेजबहादुर सिंहले वताए ।

अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई जिल्ला शिक्षाबाट पाउने छात्रवृति र पुस्तकको पनि सुविधा पाईन्छ । झन बोर्डिङको भन्दा धेरै कम खर्चमा अंग्रेजी माध्यममा पढाई हुन थालेपछि अभिभावकको आकर्षण पनि बढेको छ । सामुदायिक विद्यालयबाट एसएलसी गर्दा भविष्यमा पाईने सरकारी सुविधा र सहुलियतले धेरै विद्यार्थीहरुलाई आकर्षित गरेको हो ।

त्यसैमा निजि विद्यालयको चर्को शुल्कबाट छुट्कारा पाईने भएपछि विद्यार्थीहरु निजि विद्यालय छोडेर अंग्रेजी माध्यममा पढाई हुने सामुदायिक विद्यालय रोजिरहेका हुन् । विगतमा कक्षा, ६ र ७ तथा यस बर्षदेखि सबै कक्षामा अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने तयारी गरिरहेको धनगढीकै पञ्चोदय माविको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रमोद पाठकले वताए ।

पछिल्लो समय सामुदायिक विद्यालयको नतिजा खस्किदै गएकाले आफ्ना नानीको भविष्य उज्वल पार्न अभिभावकहरुले बोर्डिङमा भर्ना गर्नु बाध्यता पनि हो । तर हुने खानेले भने महंगो शुल्क तिरेर बोर्डिङ स्कुलमा वालवालिका पढाउनुलाई आफ्नो रवाफ पनि ठानेका हुन्छन । पछिल्लो समयमा भने सामुदायिक विद्यालयहरुले नै अंग्रेजी विषयमा पठनपाठन सुरु गरेपछि भने धेरै अभिभावकहरुले सामुदायिक विद्यालयबाट पनि गुणस्तरीय शिक्षा पाउन सकिने अपेक्षा गरेका छन ।

सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा चर्को शुल्कबाट छुटकारा पाउनुका साथै बर्षै पिच्छे हुने पाठ्यक्रम परिवर्तनबाट पनि छुटकारा पाउन सकिने अभिभावकहरुको भनाई छ । सोही आशाका साथ बोर्डिङ स्कुलबाट आफ्ना नानी झिकेर सामुदायिक विद्यालयमा भर्ना गर्ने अभिभावकहरु प्नि बढ्न थालेका छन् । यसै बर्षदेखि अंग्रेजी माध्यममा पनि पठनपाठन सुरु गर्ने तयारी थालेको धनगढी माविका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले वताए ।

यस बाहेक धनगढीकै त्रिनगर माविले पनि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिसकेको छ । यी सबै बिद्यालयहरुमा नेपाली र अंग्र्रेजी माध्यमका अलग अलग कक्षा संञ्चालन भईरहे पनि अंग्रेजी माध्यम पढ्न चाहने विद्यार्थीको संख्या उच्च छ । हाल अंग्रेजी माध्यममा पढाई सुरु गरेका विद्यालयहरुले गुणस्तरीय शिक्षा दिनसके सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको मोह नघट्ने एउटा दरिलो उदाहरण बन्न सक्थ्यो ।

तस्विर सामाग्री : दिनेश खबर